७ बैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, शोक प्रस्ताव पारित गर्ने


नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको हो ।

गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनीलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय भएका थिए । हाल प्रतिनिधिसभा सदस्य रहेका उनी विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए ।

उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए ।

नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका हुन् । विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उनको जन्मभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !