२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभाले पठायो कारागार विधेयक विधायन व्यवस्थापन समितिमा


Balkrishna

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त कारागार विधेयकलाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाइएको हो । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणिकरण गरि पठाइएको सम्बन्धमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।

आजको बैठकले राष्ट्रिय सभा अन्तर्गतको विभिन्न ४ वटा बिषयगत समितिमा रहने सदस्यहरुको नामावलीलाई मनोनयन समेत गरेको छ । बैठकले ‘दिगो विकास तथा सुशासन समिति’मा सांसदहरु कमला पन्त, कृष्णप्रसाद पौडेल, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, नन्दा चपाईं, नारायणप्रसाद दाहाल, बामदेव गौतम, भूवनबहादुर सुनार, महेशकुमार महरा, रमेशजंग रायमाझी, बिमला घिमिरे, शारदादेवी भट्ट र सिंगबहादुर विश्वकर्मालाई मनोनयन गरेको छ ।

त्यस्तै, ‘विधायन व्यवस्थान समिति’मा सांसदहरु उदयबहादुर बोहोरा, खिमलाल देवकोटा, गंगाकुमारी बेलवासे, जितेन्द्रनारायण देव, तारामान स्वाँर, देबेन्द्र दाहाल, नारायणदत्त मिश्र, प्रकाश पन्थ, प्रमिला कुमारी, डा.बेदुराम भुसाल, भगवती न्यौपाने, भैरबसुन्दर श्रेष्ठ, राधेश्याम पासवान, डा.बिमला राई पौड्याल र सुरेशकुमार आलेमगरलाई मनोनय गरेको छ ।

‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’मा सांसदहरु उर्मिला अर्याल, गोपालकुमार बस्नेत, गोपाल भट्टराई, गोमादेवी तिमल्सेना, तुलसाकुमारी दाहाल, नरपति लोहार, नरबहादुर बिष्ट, मदनकुमारी साह गरिमा, मायाप्रसाद शर्मा, मोहम्मद खालिद, युवराज शर्मा, बिना पोखरेल, सुमित्रा बिसी र हरिराम चौधरीलाई मनोनयन गरेको छ ।

त्यस्तै, ‘राष्ट्रिय सरोकार तथा समन्वय समिति’मा सांसदहरु अनिता देवकोटा, ईन्दिरादेवी गौतम, ईन्दू कँडरिया, खिमलाल भट्टराई, गोपिबहादुर सार्की अछामी, जगतबहादुर पार्की, जयन्तीदेवी राई, दिपा गुरुङ, दिलकुमारी रावल थापा पार्वती, दुर्गा गुरुङ, नारायणकाजी श्रेष्ठ, राजेन्द्रलक्ष्मी गैरे, रामचन्द्र राई, शेखरकुमार सिंह र स्वनाम गेल्जेन शेर्पालाई मनोनय गरेको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा प्रस्तुत नामावली मनोनय सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री शेरहादुर देउवाको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले ‘न्याय परिषद् र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन, २०७७/०७८’, ‘राष्ट्रिय महिला आयोगको चौधौं बार्षिक प्रतिवेदन, २०७७/०७८’ र ‘महालेखा परीक्षकको उनन्साठीऔं बार्षिक प्रतिवेदन, २०७९’ सभा समक्ष पेश गरेका थिए ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा बिशेष समयमा बोल्दैै सांसदहरुले समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

बिशेष समयमा बोल्दै सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले देशका युवाहरुलाई ईन्टरनेट, कम्प्युटर र मोबाईल भन्दा पनि खेलकूदप्रति आकर्षित गर्ने देशको नीति हुनुपर्ने बताएकी थिइन् । उनले युवा भनेको राष्ट्रकै मेरुदण्ड भएकाले युवाहरुको क्रियाकलापहरुलाई हेरेर नै देशको अवस्थाका बारेमा जान्न सकिने बताइन् ।

खेलकूदले नै मानसिक तनाबबाट मुक्ति दिलाउने, भाइचारको विकास गर्ने र राष्ट्रिय हितका लागि एकताबद्ध गराउने उल्लेख गर्दै सांसद गुरुङले नयाँ बजेट मार्फत खेलकूद क्षेत्रका लागि छुट्टिएको बजेट ज्यादै न्यून भएको बताइन् । उनले खेलकूद मार्फत राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई सरकारले शिक्षक र कर्मचारीहरुलाई जस्तै पेन्सनको व्यवस्था गर्नु पर्ने धारणा राखेकी थिइन् ।

बिशेष समयमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)की सांसद दिलकुमारी रावल थापा पार्वतीले वर्तमान गठबन्धन सरकारले जनताको बिषयमा चासो दिनु भन्दा पनि गठबन्धन जोगाउन मात्र लागि परिरहेको आरोप लगाइन् । उनले ईण्डियन आयल कर्पोरेशनले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटाए पनि सरकारले भने अझैसम्म मूल्य नघटाउनुको उद्देश्य के छ ? भनी प्रश्न गर्दै तत्काल मूल्य घटाउन सरकारसँग माग गरेकी थिइन् ।

संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएकोमा स्वागत गर्दै सांसद पार्वतीले वर्तमान सरकारलाई अब चुनावबाट भाग्न एमालेले नदिने बताइन् । उनले प्रविधिको उच्चतम प्रयोग गरी सुरक्षित र निष्पक्ष ढंगबाट मतदानको व्यवस्थाका लागि निर्र्वाचन आयोगलाई आग्रह गर्दै भयरहित ढंगबाट मतदान गर्ने वातावरण तयार हुनु पर्ने बताइन् ।

उनले आगामी निर्वाचनमा संविधानले नै व्यवस्था गरेको समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चितता हुने जानु पर्ने बताइन् । चुनावको घोषणा भए पछि काम चलाउ सरकारमा परिणत भएको वर्तमान सरकारले ठूलो मात्रामा कर्मचारीहरुको सरुवा र बढुवा गरेर ठिक नगरेको बताउँदै सांसद पार्वतीले अहिले अर्थ मन्त्रालयका कर्मचारीहरुको भागाभागको स्थिति आएको बताइन् । उनले प्रन गरिन, ‘कतै यसको कारण जेठ १४ गते रातीको घटना त हैन ?’

बिशेष समयमा स्वतन्त्र सांसद खिमलाल देवकोटाले चुनावको मितिको घोषणा भइसके पछि संघ र प्रदेशका जननिर्वाचित ईकाईहरु सबै काम चलाउमा परिणत भइसकेको स्पष्ट पार्दै संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद बाहेक सबैको कार्यकाल समाप्त भएको बुझ्नु पर्ने बताएका थिए ।

उनले हरेक मन्त्रीको कार्यकक्षमा सीसी टिभी जडान हुनुपर्ने भन्दै सीसी टिभी जडान भएमा ढिला सुस्ती र भ्रष्टाचारमा ५० प्रतिशतले कमी आउने दावी समेत गरे । नेकपा(माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेलवासेले संघर्ष र परिवर्तनको आन्दोलनमा लागि रहेमा सर्वोच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण नेपाल र भारतको राष्ट्रपति पदमा महिलाहरु पुग्नुले प्रमाणित गरेको बताइन् ।

उनले भारतले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपालमा चाहिँ मूल्य नघटेको भन्दै तत्काल मूल्य घटाउन सरकारसँग माग समेत गरिन् । उनले ६ सदस्य रहने संवैधानिक परिषद्मा राष्ट्रिय सभाको उपाध्यक्ष पनि रहने व्यवस्था गरी ७ सदस्यीय बनाउनु पर्ने धारणा राखेकी थिइन् ।

नेपाली काँग्रेसकी सांसद गोमादेवी तिमल्सेनाले स्थानीय तहको निर्वाचनका बेलामा उम्मेदवारहरुले गरेको प्रतिबद्धतालाई पुरा गर्न नसकेको बताएकी थिइन् । उनले स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचन भएकाले फोहोर व्यवस्थापनमा कठिनाई भइरहेको जिकिर गर्दै अहिले काठमाडौंमा ढल फुटेर तथा फोहोरको व्यवस्थापन हुन नसकेर पैदल यात्रुहरु दैनिक मारमा परिहेको बताएकी थिइन् । उनले तेलको भाउ बढेको बहानामा अहिले व्यापारीहरुले खाद्यान्न लगायतका सामग्रीहरुमा अत्यधिक मूल्यबृद्धि गरिरहेको भन्दै यसको नियन्त्रणका लागि सरकारसँग आग्रह गरेकी थिइन् ।

बिशेष समयमा नेकपा(माओवादी केन्द्र)का सांसद भूवनबहादुर सुनारले दैलेख, बाग्लुङ लगायत मुलुकको पश्चिमी भेगमा नागरिकता दिंदा त्यहाँका जनप्रतिनिधि र कर्मचारीहरुले दलितहरुलाई अतिनै तुच्छ र हेपाहा प्रबृत्ति देखाउँदै फ्याउरे वादी, सिंगाने कामी, कुत्ता वादी, कुकुर कामी, कुकुर्नी कामी नाम राखेको भन्दै उनीहरुको नामलाई तत्काल सच्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले प्रश्न गरे, ‘यस्तो नाम राखेर सहि गर्ने हाकिमको हात भाँच्नु पर्छ कि पर्दैन ?’

नेकपा(एमाले)की सांसद सुमित्रा बिसीले ६० रुपियाँ दर्जनमा पाईने केरा अहिले १५० पुगेको बताउँदै महँगीले जनताको ढाड सेकिसक्दा पनि सरकारले बजारको अनुगमन र नियन्त्रण गर्न नसेको भनी सरकारको आलोचना गरेकी थिइन् ।

उद्योग, बाणिज्य तथा आपूर्ति सचिवले महँगी नियन्त्रण गर्न सकिँदैन, सम्भव छैन भन्ने अन्तर्वार्ता दिएर जनतालाई निराश बनाएको भन्दै सांसद बिसीले प्रश्न गरिन्, ‘सरकारको अनुगमन गर्ने हैसियत छैन ? कि चाहँदैन ?’

उनले केही दिन अगाडि ६ लाख घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका नेपाल सरकारका उपसचिव र पछि उनकै गाडीबाट २२ लाख भेटिएको सम्बन्धमा भइरहेको कारबाहीको बिषयमा सदनलाई जानकारी गराउन माग समेत गरेकी थिइन् ।

बिशेष समयमा सांसदहरु नरबहादुर बिष्ट, बिना पोखरेल, तुलसाकुमारी दाहाल, रमेशजंग रायमाझी समेत बोलेका थिए । राष्ट्रिय सभाको अर्को बैठक पर्सी साउन २५ गते दिउँसो १ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !