२३ बैशाख २०८१, आइतबार

सिट बाँडफाँट गर्न सत्ता गठबन्धनमा बनेको कार्यदलको पहिलो बैठक बस्दै


सत्ता गठबन्धन

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनमा बनेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । गत साउन २० गते बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २/२ जनाको प्रतिनिधित्व रहेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट छन् । गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !