२४ बैशाख २०८१, सोमबार

तीन बुँदे सहमति सरकारले उल्लङ्घन गरे ‘हातमा दही जमाएर बस्दैनौँ’ : विप्लव


विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले तीन बुँदे सहमति उल्लङ्घन गरे ‘हातमा दही जमाएर नबस्ने’ चेतावनी दिएको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेकपाका महासचिव विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी गरेपछि आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सरकार शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्न लागेको बताएका छन् ।

उनले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिविरुद्ध सरकार र राज्यले आज घटाएको घटना तुरुन्त रोक्न माग गरेका छन् । उनले आफूहरूको एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको चेतावनी दिएका छन् ।

पाँच महिनासम्म चलेको ओली सरकार र वर्तमान गठबन्धन सरकारले पनि इमानदारिताका साथ सहमति पालना नगरेको सोमबार सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपाले तीन बुँदे सहमतिविरुद्ध सरकार आज घटाएको घटनालाई तुरुन्त नरोकिए आफूहरू ‘हातमा दही जमाएर नबस्ने’ काउन्टर जवाफ दिएको हो ।

आफ्नो पार्टीविरुद्ध गरिएको उक्त कदमले अन्ततः अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्याएको विप्लव नेतृत्वको नेकपाको दाबी छ ।

सोमबार ललितपुर जिल्ला अदालतले विप्लवसहित ‘प्रकाण्ड’लगायतका नेताविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर, केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दीपक’, स्कुल विभाग सदस्य भरतबहादुर बम, मोहनबहादुर कार्की, पदमबहादुर राई लगायतका नेताहरु समेत पक्राउ पुर्जी जारी गरेको छ ।

यस्तो छ हेर्नुहोस् सरकारलाई विप्लवले दिएको चेतावनी

 विप्लवको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !