१४ बैशाख २०८१, शुक्रबार

पूर्वअर्थमन्त्रीमाथिको छानबिन प्रतिवेदन मान्य छैन, मुद्दा अन्तर्राष्ट्रिय बनाऔं : ओली


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् ।

आज शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै उनले प्रतिवेदन मान्य नहुने बताएका हुन् ।

ओलीले संसदीय छानबिन विशेष समितिले शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन् । ओलीले बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी गरेका हुन् । छानबिन समितिलाई सीसीटीभी फुटेज र कल डिटेल हेर्न नदिएको ओलीले बताए ।

अध्यक्ष ओलीले बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दायरा हेरफेर गरेर देशविरुद्धको अपराध गरेकाले अर्थमन्त्री शर्माविरुद्धको मुद्दा अन्तर्राष्ट्रिय मुद्दा बनाउनुपर्ने बताएका छन् । ओलीले संसदीय समिति सत्ता गठबन्धनकै बहुमत पुग्नेगरी बनाएको आरोपसमेत लगाए ।

उनले यो सरकार बजेटमारा र ढिकुटीमाराहरुको सरकार भएको टिप्पणी गरे । कमिशन खाएर व्यपारीको एजेन्ट राखेर करको दायरा हेरफेर गर्ने अपराध सरकारले गरेको उनको भनाइ छ । एकाध व्यावसायिक घरानालाई फाइदा पुर्‍याउन कमिसन खाएर करका दर हेरफेर गरिएको उनले बताए ।

ओलीले बहुमत र अल्पमतमै प्रतिवेदन तयार गर्नु नै थियो भने संसद्‍मै हुन्छ/हुन्न भनेको भए पनि हुने उनको तर्क थियो । संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु