२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभाद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको आजको तेस्रो बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’लाई बहुमतले पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

नागरिकता विधेयकलाई प्रतिनिधि सभाको यही साउन ६ गतेको बैठकले संशोधन सहित पारित गरी सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो । प्रतिनिधि सभाबाट सन्देश प्राप्त नागरिकता विधेयकमाथि बैठकमा दफाबार छलफल भई छलफलमा उठेका प्रश्नहरुको गृहमन्त्री खाणले जवाफ समेत दिएका थिए ।

जवाफको क्रममा गृहमन्त्री खाणले छलफलमा भाग लिने सबै सांसदहरुको गैर नेपालीहरुले नेपालको नागरिकता प्राप्त गर्न नसकुन भन्ने कुरामा नै जोड रहेको आफूले पाएको भन्दै वैबाहिक अंगीकृत नागरिकताका सम्बन्धमा अझैसम्म पनि सहमति जुट्न नसकेको बताए ।

बिगतमा अध्यादेशको माध्यमबाट १८ दिनसम्म कार्यान्वयनमा आइसकेको ऐनलाई नै अहिले विधेयक मार्फत वर्तमान सरकारले ल्याएको दाबी गर्दै गृहमन्त्री खाणले आउने दिनहरुमा थप सहमति जुट्दै जाने विश्वास समेत व्यक्त गरेका थिए ।

नागरिकता बिहीन नेपालीहरुले लोक सेवा आयोगमा आवेदन दिन, पासपोर्ट बनाउन, बैंकमा खाता खोल्न, मोबाईलको सीम कार्ड लिन र आफ्नो उद्योग धन्दा तथा व्यसाय संचालन गर्नबाट समेत बञ्चित हुनु परेकाले एउटा सहमति कायम गरी ती नागरिहरुलाई नागरिकता दिउँ भन्ने नै सरकारको सदासयता रहेको स्पष्ट पारे ।

नागरिकता विधेयक माथि विभिन्न राजनीतिक दलका ७ समूहमा ३२ जना सांसदहरुले आ–आफ्नो संशोधनहरु दर्ता गराएका थिए । आफ्नो संशोधना प्रस्ताव प्रस्तुत गर्दै स्वतन्त्र सांसद खिमलाल देवकोटाले वैबाहिक अंगीकृत नागरिकता ५ बर्ष पछि मात्र दिनमिल्ने प्रावधान राख्नु पर्ने धारणा राखेका थिए । उनले भारतमा समेत नेपालबाट बिबाह गरेर जाने चेलीले ७ बर्ष नभई नागरिकता प्राप्त गर्न नसक्ने प्रावधान रहेकाले नेपालमा चाहिँ ६ महिना पनि कुर्नु नपर्ने प्रावधान ठिक नभएको बताएका थिए ।

सांसद देवकोटाले खुकुलो र दोहोरो नागरिकता कारण मुलुकमा थप अपराध बढ्दै जाने हो कि भन्ने आशंका समेत व्यक्त गरेका थिए । आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)की सांसद भगवती न्यौपानेले वैबाहिक अंगीकृत नागरिकको सवालमा ७ बर्षे प्रावधान राख्नु पर्ने धारणा व्यक्त गरेकी थिइन् ।

नागरिकता विधेयक माथि संशोधन दर्ता गराएका सांसदहरु गोपीबहादुर सार्की अछामी र डा.बेदुराम भुसालले भने अन्तमा आफ्नो संशोधनलाई फिर्ता लिएका थिए भने सांसदहरु खिमलाल देवकोटा, भगवती न्यौपाने, तुलप्रसाद विश्वकर्मा र विमला राई पौड्यालले राखेको संशोधनहरुलाई भने बैठकको बहुमले अस्वीकृत गरेको थियो ।

राष्ट्रिय सभाको आजको तेस्रो बैठकले ‘खानेपानी तथा सरसफाई विधेयक, २०७९’लाई सर्वसम्मतीले पारित गरेको छ । बैठकमा खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाई विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई पारित गर्नुपूर्व बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित विधेयक उपर छलफल भई छलफलमा उठेका प्रश्नहरुको खानेपानीमन्त्री चौधरीले जवाफ समेत दिएका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २३ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !