२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभाद्वारा शपथ सम्बन्धी विधेयक, २०७९ पारित


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘शपथ सम्बन्धी विधेयक, २०७९’लाई सर्वसम्मतीले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा(पार्वती)ले ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी थिइन् ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘कारागार विधेयक, २०७६’ लाई टेबुल गरेका थिए । उनले नै राष्ट्रिय सभाबाट सन्देश सहित प्रतिनिधि सभामा पठाइएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको सभालाई जानकारी गराएका थिए ।

बैठकले दुई विधेयकहरु उपर प्रतिनिधि सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । बैठकले ‘नेपाल इन्जिनियरिङ परिषद्(पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ माथि प्रतिनिधि सभाले गरेको संशोधनलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईस्तियाक राईले ‘नेपाल ईन्जिनियरिङ परिषद्(पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्ताव माथि बैठकमा सामान्य छलफल भई छलफलमा उठेका प्रश्नको ज्येष्ठ नागरिकमन्त्री रेग्मीले जवाफ समेत दिएकी थिइन् । राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य समयमा बोल्दै सभाध्यक्ष मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)की सांसद दिलकुमारी रावल थापा पार्वतीले सरकारले अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम(एसपीपी)मा सहभागी नहुने निणर्य गरे तापनि अस्टेलियाको मेलवर्नमा जारी आइपीसको बैठकमा नेपालका प्रधान सेनापति सहभागी हुन पठाएर दोहोरो चरित्र देखाएको भन्दै सभाध्यक्ष मार्फत सरकारको जवाफ माग गरेकी थिइन् ।

शुन्य समयमा नेकपा(माओवादी केन्द्र)का सांसद महेशकुमार महराले मुलुकका दुर्गम भेगबाट राहदानी बनाउनका राहदानी बिभागमा आइपुगेका जनतालाई त्यहाँका दलाहरुले पासपोर्ट बनाउन निम्ति ३ देखि ६ हजार रुपियाँ खाएर दुःख दिइरहेको भन्दै सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

शुन्य समयमा सांसदहरु सिंहबहादुर विश्वकर्मा, नन्दा चपाइँ, खिमलाल देवकोटा, प्रकाश पन्थ, अनिता देवकोटा समेत बोलेका थिए । राष्ट्रिय सभाको अर्को बैठक आजै १२ः२५ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !