१४ बैशाख २०८१, शुक्रबार

सिंहदरबारमा तत्कालिन नेकपाका ५ शीर्ष नेताहरु जुटे छलफलमा


प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ

काठमाडौँ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा ५ शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ ।

छलफलमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी भएका छन् भने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको छ ।

यस्तै नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक एवं राष्ट्रियसभा सांसद वामदेव गौतम पनि छलफलमा सहभागी भएका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा जारी छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी हुने बताइएतापनि उनी अहिलेसम्म आइ नपुगेको बताइएको छ ।

यसअघि आजै बिहान उक्त स्थानमा भट्टराई र प्रचण्डबीच छलफल भएको थियो । छलफलमा समाजवादी केन्द्र बनाउनेबारे कुरा भएको बताइएको छ । अहिले छलफल गरिरहेकाहरू सबै तत्कालीन नेकपामा सचिवालय सदस्य थिए ।

समाजवादी केन्द्र गठन गर्ने विषयमा सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच छलफलमा जुटेको विशेष स्रोतले बताएको छ । प्रचण्डले पनि माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव गरेका थिए ।

एकीकृत समाजवादी अध्यक्ष नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नुपर्ने बताएका थिए । एकीकृत समाजवादीका सममनित नेता खनालले आगामी संसदीय निर्वाचनमा बाम गठबन्धन बनाउनुपर्नेमा जोड दिएका छन् ।

आखिर सिंहदरबारमै किन तत्कालिन नेकपाका ५ शीर्ष नेताहरु छलफलमा जुटे ? भन्ने जिज्ञाषा बढेको छ । गत असार १९ गते पनि यी पाँच नेताबीच भेटवार्ता भएको थियो ।

सिंहदरवारमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल तीव्र हुनुलाई विशेष चासोका साथ हेरिएको छ । प्रचण्डको भारत भ्रमणबाट स्वदेश फर्किएको केही दिनमै तीन पूर्वप्रधानमन्त्रीहरु छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा समेत हेरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !