१९ बैशाख २०८१, बुधबार

संविधानको भावना अनुसार संसद‍्मा तटस्थ भएर काम गर्छु : उपसभामुख भुसाल


पुष्पा भुसाल

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित पुष्पा भुसालले संविधानको भावना अनुसार संसद‍्मा तटस्थ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उपसभामुखमा निर्वाचित भएर नयाँ वानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै भुसालले निष्पक्ष र तटस्थ भएर पदीय जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

उपसभामुख भुसालले आजको दिन लोकतन्त्र पक्षधरहरुको खुसीको दिन रहेको प्रतिक्रिया दिइन् । उनले संविधानको कार्यान्वयनका लागि, राष्ट्रिय जीवनमा उठेका विषय, जनताको दैनिकीका विषयमा संसदमा आफ्नो भूमिका निर्वाह गर्ने बताएकी छन् ।

संसदलाई मात्रै नभइ संवैधानिक परिषदलाई निष्पक्ष, तटस्थ भएर काम गर्ने समेत दावी गरेकी छन् । संविधानको पूर्ण कार्यान्वयन भएको उनले जिकिर गरेकी छन् ।

उनले उपसभामुख संवैधानिक पद भएको हुनाले निर्वाचित भएपछि हाम्रो काँधमा केहि दायित्व थपिएको पनि बताइन् । संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारबमोजिम नै आफू अघि बढ्ने धारणा व्यक्त गरिन् । उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने व्यवस्था छ ।

यसअघि पनि उपसभामुखको उम्मेदवार बनेकी उनी तत्कालीन नेकपा एमालेकी डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । २०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् ।

अहिले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखको दोस्रोपटक उम्मेदवार बनेकी भुसालले अहिले बाजी मरेकी हुन् । तत्कालीन उपसभामुख तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्ष पछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !