२२ बैशाख २०८१, शनिबार

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन सरकारसंग शेखरको माग


डा. शेखर कोइराला

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

आज सोमबार काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका नेता कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत बुधबार राष्ट्रियसभामार्फत उक्त विधेयक अघि बढाएको छ । ६ सदस्य रहने परिषद्मा तीन सदस्यको उपस्थितिमा बैठक बसेर संवैधानिक नियुक्ति गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ ।

यस्तै खालको अध्यादेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गर्दा काँग्रेसका सभापति देउवाले सो समयमा प्रेस विज्ञप्ति नै जारी गरेर विरोध गरेका थिए भने अहिले देउवा आफैंले सोही प्रकृतिको विधेयक ल्याएको भनेर चौतर्फी आलोचना समेत भएको छ ।

काँग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा दुवै जनाले उक्त विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएपछि नेपाली काँग्रेसका सभापतिका उम्मेद्वार समेत रहेका कोइरालाको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !