१९ बैशाख २०८१, बुधबार

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आइपुगे काठमाडौं


लिउ जियानचाओ

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन् । उनी चार दिने नेपाल भ्रमणका सिलसिलामा आज बिहान साढे १० बजे काठमाडौं आइपुगेका हुन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पुरानो वानेश्वरस्थित द्वारिकाज होटलमा गएका छन् । द्वारिकाजमा दिउसोभर आराम गरेर उनी बेलुकीबाट भेटघाटमा निस्किने बुझिएको छ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गरेपछि गत चैतको दोस्रो सातामा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल आएका छन् ।

नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि भएको चिनियाँ पक्षको पहिलो भ्रमणलाई राजनीतिक वृत्तमा उच्च महत्वले विश्लेषण गरिएको छ । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

लिउले राष्ट्रपति भण्डारीका साथै नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !