२३ बैशाख २०८१, आइतबार

नयाँ पार्टी घोषणा गरेका बामदेव गौतमले किन भेटे ओलीलाई ?


केपी शर्मा ओली र वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नयाँ पार्टी घोषणा गरेका बामदेव गौतमले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

नेकपा एकता एकता अभियानका संयोजक गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान ओलीको निजी निवास बालकोट पुगेका हुन् । गत असार १४ गते मंगलबार नयाँ पार्टी घोषणा गरेका गौतमले आखिर किन भेटे ओलीलाई ? भनेर चासो बढेको छ ।

नेकपा एमाले त्यागेपछि गौतम पहिलो पटक कम्युनिष्ट पार्टीको एकताको अभियान अगाडि बढाउने बताएर बालकोट गएको बुझिएको छ । नयाँ पार्टी घोषणा गरेर कम्युनिष्ट पार्टीको एकताको अभियानमार्फत आफ्नो दर्बिलो भूमिकाको रणनीति गौतमले लिएका हुन् ।

गौतम निकट स्रोतका अनुसार सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेका हुन् । गौतमले ओलीपछि आजै अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ थिए । उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।

नेकपा (एमाले) का तत्कालिन पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका थिए । उनको पार्टीमा ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् भने ८ सदस्यीय सचिवालय सदस्य घोषणा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !