२२ बैशाख २०८१, शनिबार

मन्त्री हेरफेरको विपक्षमा उभिदै नेकपा एसका १० सांसदद्वारा अध्यक्ष नेपालविरुद्ध मोर्चाबन्दी


विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का १० सांसदहरुले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । नेकपा एसवाट वर्तमान देउवा सरकारमा रहेका ४ जना मन्त्रीसहित १० जना सांसदहरु मन्त्री हेरफेरको विपक्षमा उभिएका हुन् ।

ती १० जना सांसदले पार्टी कार्यालयमा ८ बुँदे असन्तुष्टि पत्र दर्ता गराएका छन् । आज बिहान १० बजे स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्व १० जना संसदहरु विभिन्‍न मागसहित असन्तुष्टि पत्र दर्ता गराएका हुन् ।

बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व भएको उक्त पत्रमा उल्लेख गरिएको छ । ती १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको हेरफेर सही र स्वभाविक मान्न नसकिने भन्दै पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गरेका हुन् ।

यसका साथै मन्त्रीलाई पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरेको, स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष नेपालले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरित पटक-पटक चाँडो भन्दा चाँडो नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्री देउवालाई दिएको दबाब किमार्थ राम्रो मान्न नसकिने उल्लेख गरिएको छ ।

त्यस्तै अहिले मन्त्री बनाउन प्रस्ताव गरेको ५ जनाको नाम कुनै हालतमा परिवर्तन हुनुपर्ने उनीहरूले अडान लिएका छन् । मन्त्रीका लागि सिफारिस गरिएका नयाँ नाम समावेशी नहुनुका साथै कुनै महिलाको नाम पनि पुन: मन्त्रीको लागि सिफारिस नगरिएको भन्दै असन्तुष्टि समेत प्रकट गरिएको छ ।

यसका साथै एउटै जिल्लाबाट मन्त्रीको लागि २ जना सिफारिस गरिएको, सिनियर-जुनियर नहेरिएको भन्दै ६ महिनाको नियम सबैमा लागू हुनुपर्ने माग समेत गरिएको छ ।

असन्तुष्ट जनाउने संसदहरुमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु रहेका छन् ।

मन्त्री हेरफेरको प्रक्रिया सुरु भएलगत्तै पार्टीमा चर्को विवाद सिर्जना भएर तीव्र मतभेद चुलिएसंगै एकीकृत समाजवादी पार्टी गम्भीर संकटमा पुगेको छ । एकीकृत समाजवादीको जेठ २२ गते बसेको सचिवालय बैठकले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । असन्तुष्ट संसदहरुले तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गरेका छन् ।

यस्तो छ हेर्नुहोस् नेकपा एसका १० सांसदद्वारा अध्यक्ष नेपाललाई गराएको ध्यानाकर्षण पत्र

ध्यानाकर्षण पत्र ध्यानाकर्षण पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !