८ बैशाख २०८१, शनिबार

नेकपा एसद्वारा प्रधानमन्त्रीसमक्ष मन्त्रीमण्डल हेरफेरको निर्णय कार्यान्वयनको माग


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्रीमण्डल हेरफेरको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेकपा (एस) ले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न माग गरेको हो ।

एकीकृत समाजवादी नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय गरिसकेकोले प्रधानमन्त्रीलाई तुरुन्तै कार्यान्वयन माग गरेको बताए । नेकपा (एस) ले बैठकमा अब पार्टी धेरै पर्खिने अवस्थामा नरहेको प्रष्ट परेकोमा प्रधानमन्त्री देउवाले निर्णयबारे पत्र आइसकेकोले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको खनालले बताए ।

यसअघि एकीकृत समाजवादीका थमौती भएका मन्त्रीहरु बजेट पारित भएलगत्तै फिर्ता हुने बताइएको थियो । नेकपा (एस) वाट देउवा सरकारमा रहेका मन्त्रीहरु आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधिसभाबाट पारित भएलगत्तै फिर्ता हुने बताइएको थियो ।

नेकपा (एस) को स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले बजेट अनुमोदन भएपछि मन्त्रीहरु परिवर्तन हुने जानकारी गराएका थिए । प्रतिनिधिसभाबाट बजेट पारित हुने बित्तिकै पार्टीका मन्त्रीहरु फिर्ता हुने जानकारी दिएको थिए ।

नेकपा (एस) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सरकारवाट फिर्ता बोलाउने निर्णय यसअघि नै गरिसकेपनि बजेट पारित नभएको अवस्थामा उनीहरुको पद थमौती भएको थियो ।

एकीकृत समाजवादीको सचिवालय बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएको थियो । पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ४ जना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर अव अन्य नेतालाई सरकारमा पठाउने प्रस्ताव गरेको थियो ।

नेकपा (एस) को सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने प्रस्ताव गरिएको थियो ।

यो पनि पढ्नुहोस्

एकीकृत समाजवादीका मन्त्रीहरु बजेट पारित भएलगत्तै फिर्ता हुने

फिर्ता बोलाउने भनिएका मन्त्रीहरुलाई प्रधानमन्त्री देउवा बोलाए मन्त्रिपरिषद्को बैठकमा

नेकपा (एस) आफ्नो निर्णयवाट पछि हट्यो, मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित

एकीकृत समाजवादीद्वारा सरकारमा रहेका ४ मन्त्री फिर्ता

एकीकृत समाजवादीले टुंगो लगायो नयाँ मन्त्रीको नाम, को कुन मन्त्री बन्दैछन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !