७ बैशाख २०८१, शुक्रबार

नेकपा (एस) आफ्नो निर्णयवाट पछि हट्यो, मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा रहेका ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयवाट पछि हटेको छ । सरकारमा रहेका मन्त्रीहरुको तीव्र असन्तुष्टिपछि मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित हुने भएको हो ।

सरकारमा रहेका नेकपा (एस) का मन्त्रीहरुको तीव्र असन्तुष्टि र सत्तारुढ दल नेपाली कांग्र‍ेस र नेकपा (माओवादी केन्द्र) ले समेत मन्त्रिपरिषद् हेरफेरमा अनिच्छा देखाएपछि तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर नहुने भएको हो ।

नेकपा (एस) का अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर गर्न एक्कासी नाम बुझाएपछि सरकारबाट बाहिरिन लागेका मन्त्रीहरुमध्ये विशेषगरी श्रममन्त्री किसान श्रेष्ठको अगुवाईमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शक्तिकेन्द्र पुगेर मन्त्रिपरिषद् हेरफेर नगर्न दवाव दिएको विशेष स्रोतले जानकारी दिएको छ ।

यस्तै मन्त्रिपरिषद् हेरफेरका विषयमा आज विहान सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको बृहत छलफलपछि तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरेको थियो ।

गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार आज भएको छलफलमा बजेटमाथि संसदमा छलफल जारी रहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति जुटेको थियो । यस्तो निर्णयपछि ४ जना मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुने भएको हो ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि कांग्रेस, माओवादी र जसपामा पनि मन्त्रिपरिषद् हेरफेरका लागि दबाब बढेर गठबन्धन नै धरापमा पर्नेसक्ने स्थिति सिर्जना हुनसक्ने आंकलन गरेपछि अन्य शीर्ष नेताहरुले तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर गर्न नहुने निष्कर्ष निकालेर अध्यक्ष नेपाललाई मन्त्रीहरु फिर्ता बोलाउन नहुनेमा विश्वस्त पारेका थिए ।

यता नेकपा (एस) वाट नयाँ मन्त्रीमा नाम सिफारिस भएर मन्त्री बन्न तम्तयार भएर सपथका लागि दौरा सुरुवाल समेत तयार गरेर बसेका नेताहरु भने गठबन्धन र पार्टीका अध्यक्षको उक्त निर्णयप्रति असन्तुष्ट रहेको स्रोतले बताएको छ । उनीहरुले पार्टीले मन्त्री फेर्ने निर्णय गरिसकेको हुँदा उक्त निर्णय रोक्नु नहुने र कार्यान्वयन हुनुपर्ने जिकिर गरिरहेको बुझिएको छ । यसले गर्दा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बडो तनावमा रहेका छन् ।

नेकपा (एस) बाट शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेर हिजो नै प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम बुझाएको थियो ।

हिजो आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएको थियो । पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ४ जना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर अव अन्य नेतालाई सरकारमा पठाउने प्रस्ताव गरेको थियो ।

नेकपा (एस) को सचिवालय समितिको निर्णयअनुसार एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने प्रस्ताव गरिएको थियो ।

नेकपा (एस) को सचिवालय बैठकले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे निर्णय गरेको थियो । एकीकृत समाजवादीले मन्त्रीहरूलाई ६ महिना भनेर पठाइएको र ६ महिनाभन्दा बढी भएकाले उनीहरुलाई सरकारवाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

एकीकृत समाजवादीद्वारा सरकारमा रहेका ४ मन्त्री फिर्ता

एकीकृत समाजवादीले टुंगो लगायो नयाँ मन्त्रीको नाम, को कुन मन्त्री बन्दैछन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !