२३ बैशाख २०८१, आइतबार

एसपीपीमा पूर्व प्रधानमन्त्री ओलीको संलग्नता छ : बामदेव गौतम


बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका मनोनित सांसद बामदेव गौतमले अहिले चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम(एसपीपी)मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सांसद गौतमले भने,‘यसलाई जसले शुरुवात् गरेको भए तापनि यसलाई अगाडि बढाउने कार्यमा नेकपा एमालेका अध्यक्ष, त्यसबेलाका प्रधानमन्त्री संलग्न हुनुहुन्छ ।’

उनले थपे,‘अब सदनलाई साँचो कुरा बताउनु पर्दछ र सत्य बताउँदा कोही पनि सानो हुँदैन, पार्टी पनि सानो हुँदैन व्यक्तित्व पनि सानो हुँदैन ।’

पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको पालामा समेत यो एसपीपीको कुरा आएको भनी लागेको आरोपको खण्डन गर्दै सांसद गौतमले भने,‘म शुरु देखि नै त्यो सरकारमा सहभागी थिएँ, उहाँले सबै कुरामा मेरा सल्लाह लिनुहुन्थ्यो, त्यति बेला एसपीपी सम्बन्धी कुनै कुरा भएको छैन ।’

केही समय देखि आफू नेपालको कुनै पार्टीमा आबद्ध नभएको भन्दै सांसद गौतमले विगतमा आफूले पुष्पलाल, मदन भण्डारी र जिवराज आश्रितको पनि आलोचना गरेको स्मरण गरे । कम्युनिष्ट आन्दोलनलाई एकीकृत घोषणा मार्फत छिटै अगाडि बढाउन लागेको जानकारी दिंदै सांसद गौतमले विगतमा सदनले अनुमोदन समेत गरिसकेको एमसीसी सम्झौता पनि आईपीएसकै एउटा अंग भएको स्पष्ट पारे ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउबाकै अघिल्लो सरकारको पालामा पहिलो पटक र दोस्रो पटक पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सम्झौता भई एमसीसी नेपालमा आएको बताउँदै सांसद गौतमले एमसीसीको विपक्षमा आएका जनमतलाई शिथिल बनाउने उद्देश्यले मात्र एमसीसी पारित गर्दा १२ बुँदे ब्याख्यात्म घोषणा गरिएको दाबी गरे ।

उक्त १२ बुँदे व्याख्यात्मक घोषणा मान्न अमेरिकालाई बाध्य बनाउन नसकिने बताउँदै सांसद गौतमले अहिले चर्चामा आइरहेको एसपीपी नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउने उद्देश्यका साथ ल्याइएको प्रष्ट पारे ।

नेपाललाई कुनै पनि हालतमा एसपीपीमा संलग्न गर्न हुँदैन भन्ने कुरा अहिले सबै पार्टी र संसदले समेत बुझेको आफूलाई महशुस भइरहेको बताउँदै सांसद गौतमले प्रधानमन्त्री देउबा अमेरिका भ्रमणमा जान लागेको बेलामा परारष्ट्रमन्त्रीले एसपीपीमा हामी जान खोजेकै तर त्यो सैनिक गठबन्धन भने हैन भनेकाले पनि वर्तमान सरकार त्यस दिशामा अगाडि बढेको प्रष्ट हुने तर्क गरे ।

वर्तमान प्रधानमन्त्री देउबाको कसैले सहयोग गर्ने कुरा गरे तत्काल हात थापिहाल्ने चरित्रले गर्दा स्वयंं आफू, आफ्नो पार्टी र सिंगो देशलाई समेत घाटा पुगिरहेको दाबी गर्दै सांसद गौतमले प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्रीले सरकारले यो सम्झौता गर्दैन भनेर सदनमा जवाफ दिए पछि भने यसबाट अब मुक्त भइएको दावी गरे । एसपीपीबाट पछाडि हट्नु परेकोमा वर्तमान प्रधानमन्त्री देउबा दुःखीत भएको दाबी गर्दै उनले भने,‘एसपीपीको सम्बन्धमा प्रधानमन्त्री स्वयंबाट सदनमा जवाफ आएको भए अझ राम्रो हुन्थ्यो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !