१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डको दावी : ओली सरकारले एसपीपी सम्झौता गरेको हो


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका छन् ।

आज बिहीबार कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका हुन् ।

प्रचण्डले अमेरिकासँग एसपीपी सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका छन् । उनले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दावी गरेका छन् ।

प्रचण्ड अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो भनेर गरेको प्रचार बिल्कुल झुटो भएको जिकिर गरे । एसपीपीजस्तो कुनै सैन्य सम्झौता नभएको र अबका दिनमा पनि नहुने उनको भनाइ रहेको छ ।

तर वर्तमान शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार कुनै सैन्य सम्झौता गर्ने पक्षमा नरहेको उनले स्पष्ट समेत पारेका छन् । उनले अरू देशसित कुनै सैन्य सम्झौता गर्ने पक्षमा सत्ता गठबन्धन नरहेको पनि बताए ।

उनले गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन र हुँदैन भनेर प्रधानमन्त्री देउवाले भनेको सुनाए । उनले एसपीपीमा नेपालले सम्झौता नगर्ने प्रतिबद्धता प्रधानमन्त्रीले गठबन्धनमा छलफल हुँदा बताएको जानकारी गराए ।

उनले एपीपीजस्ता सैन्य सम्झौता आफूले हुन नदिने र त्यस्तो कुनै सैन्य सम्झौताको तयारी समेत नभएको स्पष्ट पारे । सांसदहरुले अमेरिकी एसपीपीबारे प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै आइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !