२४ बैशाख २०८१, सोमबार

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ल्याउन एमालेको माग, संसद् चल्न नदिने


विशाल भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानविनको माग गर्दै आज संसदमा अवरोध गरेको छ । एमालेले अर्थमन्त्री शर्मा विवादमा तानिएको विषयमा छानविन गर्न संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान राखेको हो ।

आज एमालेको अवरोधपछि सभामुख अग्नि प्रसाद सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । केही समयअघिदेखि संसद अवरोध नगर्ने भनेको एमालेले आफ्नो माग पुरा नभएसम्म पुन: संसद अवरोध जारी राख्ने रणनीति अवलम्वन गरेको हो ।

अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको, राजस्वमा स्वार्थअनुकूल व्यापक हेरफेर गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानविन समिति बनाउन माग गर्दै यो नभएसम्म सदन अगाडि बढ्न नसक्ने घोषणा गरेका हुन् ।

बजेट बनाउने क्रममा भएका अनियमितता र हस्तक्षेपले आफूहरुले गरेको ‘खास खास घरानाका व्यक्तिसँग, उनीहरुको स्वार्थमा बजेट बनाइएको’ आशंकालाई पुष्टि गरेको भट्टराईले बताए । उनले नैतिकता भएको भए अहिलेसम्म अर्थमन्त्रीले राजीनामा दिएर छानविनको आह्वान गरिसक्नुपर्नेमा त्यसो नभएकाले अब संसदले छानविन गर्नुपर्ने माग गरेको स्पष्ट पारेका हुन् ।

यसरी अर्थमन्त्री शर्मा पुन: विवादमा तानिएका छन् । जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिले भनेको आधारमा करमा हेरफेर गरिएको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् । एमालेले जेठ १४ गते रातिको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ल्याउन पनि माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !