२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभामा बजेट माथिको सैद्धान्तिक छलफल जारी


प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको छलफलमा पनि आ.ब.२०७९/०८० को बजेट माथिको सैद्धान्तिक छलफल जारी रह्यो । छलफलमा भाग लिंदै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद सुरेन्द्र पाण्डेले बृद्ध भत्ता पाउने उमेर घटाए पछि यसको श्रेय एमालेलाई नै जाने बताएका थिए । उनले विदेशी मुद्राको संचिती मासिक १०-१५ करोडले घट्दै जानेक्रम भएकाले देश संकटग्रस्त हुँदै गएको बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका सांसद पाण्डेले विदेशी मुद्रा खर्च हुने डरले व्यापारीलाई बस्तु आयात गर्नबाट बन्चित गरिँदा राजश्वको लक्ष्य कुनै हालतमा प्राप्त गर्न नसकिने दावी गर्दै बैंकहरुले एक करोड समेत ऋण दिन मुस्किल हुँदै गएको अवस्थामा चितवन र सगरमाथा पुग्ने दु्रत मार्ग निजी क्षेत्रले बनाउने भन्ने कुरा हावादारी भएको बताए ।

उनले ६० लाख जनतालाई इन्डक्सन चुलो अनुदानमा दिँदा सरकारको कम्तिमा पनि ३० अरब रुपियाँ खर्च हुने भएकोले यो पनि हावादारी भएको दावी गरे ।

छलफलमा सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले बजेटका हरेक बुँदालाई शंकाको दृष्टिकोणले हेर्दै जाने भन्दा पनि समस्या समाधानको लागि गम्भिर भएर लाग्नुपर्ने बताए ।

पूर्व मन्त्री समेत रहेका सांसद बस्नेतले समस्याहरु वर्तमान सरकारको पालामा मात्रै सिर्जित भएको नभई थुप्रै समस्याहरु विरासतकै रुपमा समेत प्राप्त भएको दावी गरे ।

बजेट माथिको सैद्धान्तिक छलफलमा सत्तागठबन्धन दल जसपाका सांसद प्रदिप यादवले नयाँ बजेट संघीयतालाई बलियो बनाउने किसिमले आएको भए तापनि सन्तुलित हुन नसकेको बताएका थिए । उनले बजेटले मधेशको लाईफलाईनको रुपमा रहेको हुलाकी राजमार्गलाई उपेच्छा गरेको जिकिर गर्दै बजेटले समग्रमा मधेश प्रदेशलाई ठगेको बताए ।

बजेट माथिको छलफलमा राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले बजेटका कमजोरीको कुरा गर्दा अहिले मात्र यस्तो बजेट आएकोे हो र ? भन्दै प्रश्न गरिनु ठिक नभएको बताएका थिए ।

उनले बजेट आर्थिक संकट तथा मूल्य बृद्धि रोक्ने तरिकाले आउनु पर्नेमा केवल निर्वाचन लक्षित मात्र भएको बताउँदै बजेटका स्रोतहरु र कार्यान्वयनको आधारहरु नभएको बताए ।

सांसद लिङदेनले सरकारले अनुदानमा जनतालाई उपलब्ध गराउने भनेको ईन्डक्शन चुलो चलाउनको लागि विजुलीको लाईन, क्षमता र प्रयोग हुने भाँडाकुँडाको अभावका कारण पनि व्यवहारिक रुपमा लागू हुन कठिन भएको बताए ।

छलफलमा सत्तापक्षका सांसदहरुले बजेट राम्रो भएको र बजेटमा राम्रा कुराहरु समेटिएको भन्दै प्रशंसा गरेका थिए भने प्रमुख प्रतिपक्षी लगायतका दलका सांसदहरुले भने बजेट हावादारी, चुनावमुखी, कार्यान्वयन हुन कठिन भन्दै बजेटको आलोचना गरेका थिए ।

छलफलमा सांसदहरु पद्मनारायण चौधरी, निरादेवी जैरु, रंगमति शाही, लक्ष्मि परियार, दुर्गा पौडेल, सरिताकुमारी गिरी, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, सुदन किराँती, यज्ञराज सुनुवार, देव गुरुङ लगायतले भाग लिँदै आ-आफ्नो धारणा राखेका थिए । आगामी बजेट माथिको सैद्धान्तिक छलफल भोलि पनि जारी रहने भएको छ ।

बैठकले संघीय संसदको दुईवटा संयुक्त समितिमा प्रतिनिधिसभाका तर्फबाट रहने सदस्यहरुको नामावलीलाई हेरफेर समेत गरेको छ ।

जसानुसार, संसदीय सुनुवाई समितिमा प्रतिनिधि सभाको तर्फबाट रहने सदस्यहरुको नामावली हेरफेर गरेको छ । सुनुवाई समितिमा रहने सांसदहरुमा अमृता थापा, खगराज अधिकारी, देवप्रसाद गुरुङ, निरुदेवी पाल, पुष्पा भुसाल गौतम, भिमसेनदास प्रधान, विशाल भट्टराई, शिवकुमार मण्डल केवट, सुेरेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत उक्त नामावलीलाई सभाले सहमति जनाएको थियो ।

त्यसैगरी, प्रतिनिधि सभाको बुधबारको बैठकले संघीय संसदको अर्को संयुक्त समिति ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन र मूल्यांकन समिति’मा रहने सांसदहरुमा अनिलकुमार झा, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, दुर्गाकुमारी वि.क., दुर्गा पौडेल, देवप्रसाद तिमल्सिना, भिमबहादुर रावल, मातृकाप्रसाद यादव, रामवीर मानन्धर, लक्ष्मि परियार रहेका छन् ।

सभामुख सापकोटाले प्रस्तुत गरेको यी नामावलीलाई समेत सभाले सहमति जनाएका थियो । प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ १९ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !