१४ बैशाख २०८१, शुक्रबार

आखिर किन बालेनले भेटेका थिए ओलीलाई ?

एमाले अध्यक्ष ओली र बालेन साहको त्यो अनपेक्षित भेट


केपी शर्मा ओली र बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खुलासा भएको छ ।

ओली र साहको भेटघाटको उक्त तस्वीर अहिले सामाजिक संजालमा भाइरल हुने क्रममा छ । आखिर किन बालेनले भेटेका थिए ओलीलाई ? भन्ने चासो आम नागरिक र राजनीतिक वृत्तमा बढेको छ ।

गोरखापत्र संस्थानको सल्लाहकार सम्पादक भईसकेका एवं केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनका परराष्ट्र मामिला विज्ञमा नियुक्त भएका गोपाल खनालले सामाजिक संजाल ट्वीटरमा ओली र बालेनको भेटघाटको फोटो पोष्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको यस्ता भेटघाट स्वभाविक हुन्छन् जव देशका लागि केही गरौं भन्ने साझा सोच हुन्छ भनेर लेखेका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयरको मतगणना भईरहेका समयमा मेयरका स्वतन्त्र उम्मेदवार भएका साह एमाले अध्यक्ष ओलीलाई भेट्न उनकै निवासमा पुगेको खुलासा भएको हो । बालकोट स्रोतका अनुसार बालेन सहित ५ जनाको टिम ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

साह ओलीलाई बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकोले अध्यक्ष ओलीले शुभकामना पनि दिएको बुझिएको छ । यद्यपि ओली र साहवीच भएको एक्ला एक्लैको भेटमा के विषयमा कुरा भयो भन्ने अझसम्म खुलाइएको छैन ।

साहनिकट स्रोतका अनुसार आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरुमध्ये पहिलो पटक अध्यक्ष ओलीलाई भेट्न बालकोट गएको बताएको छ । काठमाडौं महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर साहले ओलीसंग केही सुझाव मागेको बालकोट स्रोतले बताएको छ ।

काठमाडौंको मेयरमा उम्मेदवार भएका केशव स्थापितसंग बालेनको टक्कर भईरहेका बेला ओली र बालेनवीच भएको त्यो अनपेक्षित भेटले नेपाली राजनीति फेरि तातेको छ । काठमाडौँ मतगणना सकिने एक दिनअघि बालेनसहितको टोली ओलीलाई भेट्न बालकोटमा पुगेको थियो ।

उक्त भेटको विवरण आजसम्म दुवै पक्षले गोप्य राखेका थिए । बालेनकै विशेष अनुरोधमा उक्त भेट भएको पनि खुलेको छ । स्थानीय तहको निर्वाचनअघि नै साहले ओलीसँग भेटघाट गर्न इच्छुक भएको पनि थाहा भएको छ । बालकोटमा ओलीले पहिला बालेनको टिमसँग सामूहिक भेटघाट पनि बालेनसँग एक्लै कुराकानी गरेका थिए ।

मेयर उपमेयरमा दुवैजना युवाहरुले विजयी हासिल गर्दै गरेकोले यहाँको आवश्यकतालाई पहिचान गरेर अघि बढ्न र ‘युवाहरुलाई भाइब्रेट क्रिएट गर्ने काम’ गर्न अध्यक्ष ओलीले बालेनलाई सुझाव दिएको बालकोट स्रोतले बताएको छ ।

ओली प्रधानमन्त्री भएका बेला साह समुहले पनि ‘इन अफ इज इन अफ’ भन्ने अभियानमा सहभागिता जनाएर दुई धुर्वमा आमनेसामने रहेका साह र ओलीको मिलनलाई चासोका साथ हेरिनु स्वाभाविक हो ।

नेपालका अहिलेका राजनीतिक दलका नेताहरुमध्ये ओलीलाई साहले देश बनाउने संकल्प र सपना बोकेका नेताको रुपमा हेर्ने गरेको पनि खुलासा भएको छ । आफू पनि ओलीबाटै प्रभावित भएर राजनीतिमा होमिएको साहले बताएको पनि स्रोतले दावी गरेको छ ।

ओलीको राजनीतिवाट प्रभावित मेयर साहले आफ्नो जित सुनिश्चित भएपछि ओलीसँग आशिर्वाद लिन बालकोट गएको हुनसक्ने पनि पनि एक कोणवाट विश्लेषण गर्न सकिन्छ । काठमाडौँका लागि केही गरौं भन्ने साझा सोच भएर ओलीसंग सल्लाह सुझाव लिन साह बालकोट गएको हुनसक्छ ।

तर ओलीलाई किन भेटे साहले ? यसभित्र के खिचडी पाकिरहेको छ ? भनेर पनि शंका गर्ने प्रशस्त ठाउँ छ । आफ्नै पार्टीवाट मेयरको उम्मेदवार स्थापित हुँदा-हुँदै ओलीले साहलाई किन खादा लगाएर आशिर्वाद दिंदै सम्मान गरे ? भन्ने प्रश्नको उत्तर अहिलेसम्म अनुत्तरित रहेकोले यो भेटलाई अर्को कोणवाट पनि विश्लेषण गर्न सकिन्छ ।

काठमाडौँ महानगरमा स्वतन्त्रवाट विजयी भएका साहलाई काम गर्न त्यति सहज छैन । ३२ वटा वडा भएको काठमाडौँ महानगरमा एमालेका साथै अन्य पार्टीवाट निर्वाचित भएका पनि वडाध्यक्ष छन् । सवै पार्टीवाट निर्वाचित भएका वडाध्यक्षसँग हातेमालो गरेर मात्र साहले सोचेका सपनाहरु साकार हुन सक्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !