१४ बैशाख २०८१, शुक्रबार

संसदमा योगेशले भने- हचुवाको भरमा दुई दिन बिदा दिने निर्णय गरियो


योगेश भट्टराई फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद् योगेश भट्टराईले हचुवाको भरमा हप्ताको दुई दिन बिदा दिने निर्णय गरिएको टिप्पणी गरेका छन् ।

विनियोजन विधेयकमाथि छलफल गर्न आज बुधबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् भट्टराईले हचुवाको भरमा हप्ताको दुई दिन बिदा दिने निर्णय गर्नु घातक भएको आरोप समेत लगाएका छन् ।

आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्वन्धमा (कर प्रस्ताव बाहेक) माथि जारी छलफलमा भाग लिंदै संसद भट्टराई पेट्रोलियम पदार्थको उपभोग घटाउनकै लागि दिइएको दुई दिन बिदा प्रत्युत्पादक हुने समेत बताए ।

उनले श्रमशक्ति, अर्थतन्त्र, पर्यटनको विकासमा कसरी टेवा पुर्याउँछ भन्नेबारे मुल्यांकन नै नगरी दुई दिन बिदा दिनु घातक हुने तर्क गरेका छन् । भट्टराईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताए ।

व्यापार घाटा न्यूनीकरण गर्दै पूँजीगत खर्च वृद्धि गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो अवस्था आउन नदिन वैकल्पिक उपायको खोजी गरिनुपर्ने बताए ।

“पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने विषय विधेयकका सिद्धान्त र प्राथमिकतामा देखिएन”, उनले भन्नुभयो, “गैरआर्थिक कारोबार बढेको छ, यसले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको छ ।”

नेकपा (एमाले) ले हिजोको प्रतिनिधिसभाको बैठकमा भाग लिएपछि ९ महिना लामो संसदको अवरोध हटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !