२४ बैशाख २०८१, सोमबार

पोखरामा आज गठबन्धनको संयुक्त चुनावीसभा, शीर्ष नेताहरूले सम्बोधन गर्दै


सत्ता गठबन्धनले चुनावी सभा फाइल फोटो

पोखरा । पोखरामा आज पाँच दलीय सत्ता गठबन्धनको संयुक्त विशाल चुनावी आमसभा हुँदै छ । गठबन्धनले गर्न लागेको संयुक्त चुनावी आमसभालाई पाँच दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

पाँच दलीय गठबन्धनले हिजो शनिवार पोखरामा पत्रकार सम्मेलन गरी आज आइतबार पोखराको अमरसिंह चौरमा बिहान ११ बजे विशाल चुनावी आमसभा गर्ने आयोजना गर्ने जानकारी दिएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले बताएको छ ।

चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट र्याली निकालिने गठबन्धनले जानकारी दिएको छ । विभिन्न स्थानबाट निस्किने र्यालीलाई गठबन्धन दलका कास्कीका शीर्ष नेताहरूले नेतृत्व सम्हाल्ने छन् ।

चुनावी सभामा शीर्ष नेताहरूले गठबन्धनको औचित्यबारे प्रष्ट पार्ने भएकोले चुनावी सभा विशाल, भव्य, सभ्य र ऐतिहासिक हुने गठबन्धनले बताएको छ । यो चुनावी सभाबाट पाँच दलीय गठबन्धनले एकतास्वरुप शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो ।

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा साझा उम्मेदवार रहेका छन् ।

सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई पनि भरतपुर र काठमाडौँ जस्तै प्रतिष्ठाको रुपमा लिएका छन् । आजै पोखराको सभापछि दाङको घोराहीमा हुने चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !