१४ बैशाख २०८१, शुक्रबार

म्याग्दीमा खेतबारी र घरआँगनमै पुगेर मत माग्दै उम्मेदवार


घरआँगनमै पुगेर मत माग्दै उम्मेदवार

गलेश्वर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दी जिल्लाका गाउँगाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न घरआँगनमै पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारी र काम गरिरहेको ठाउँमै पुगेर भए पनि उम्मेदवारले आफूलाई भोट दिन अनुरोध गर्ने गरेका छन् ।

म्याग्दीका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन् । कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद रोका मालिका–४ स्थित खेतबारीमा मकै गोडिरहेका र आँगनका गहुँ चुटिरहेका मतदातासँग बारी र आँगनमै पुगेर मत मागेका छन् । अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले कतिपय मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूको काममा व्यवधान नहोस् भनेर खेतबारीमै पुग्ने गरेको रोकाले बताए ।

आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको उनको भनाइ छ । घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदातासमक्ष राख्ने गरेको उनले बताए । मालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारेमा मतदाताको सुझावसमेत लिने गरेको उनले जानकारी दिए । आफ्नो चुनावी घोषणापत्र भए पनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरी निर्वाचित भएपछि काम गर्ने रोकाले बताए ।

त्यसैगरी एमालेको तर्फबाट रघुगङ्गा गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की (दीपक) पनि मकै बारीमा पुगेर मतदातालाई भेटेका छन् । मतदातालाई बारीसम्म पुगेर आफ्ना कुरा राख्न पाउनु र उनीहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको उनले बताए ।

बारीसम्मै आइपुगेर मत मागेपछि कृषक खुसी भएका छन् । कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन् ।

कांग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट बेनी नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा र ज्याति लामिछाने पनि खेतबारीमा काम गरिरहेका किसान, मजदुर र वनजङ्गलमा गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त छन् ।

बेनी नगरपालिकामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार सुरत केसी पनि घरघरमै पुगेर मतदातालाई भेटघाट गर्न व्यस्त छन् । घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गरिएको उनले बताए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट बेनी नगरपालिकाका प्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा र उपप्रमुखका उम्मेदवार ज्योति लामिछानेले नगरपालिकाका १० वटै वडामा घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको प्रमुखका उम्मेदवार शर्माले बताए ।

छवटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरि गाउँपालिकाको वडा नं १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध भएका हुन् । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगङ्गा गाउँपालिका–६ वडामा एमाले र राप्रपाबीच तालमेल भएको छ । कांग्रेस र माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा (एकीकृत समाजवादी) ले चुनावी तालमेल नभएपछि जिल्लाभरमा तीन पदबाहेक अन्य पदमा गरेको मनोनयन फिर्ता गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !