२२ बैशाख २०८१, शनिबार

गभर्नरलाई निलम्बन गर्नु सरकारको गैर जिम्मेवारीपनको पराकाष्ठ हो : शेखर कोइराला


शेखर कोइराला फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन गर्नु शेरबहादुर देउवा नेतृत्वको सरकारको गैर जिम्मेवारीपनको पराकाष्ठ भएको बताएका छन् ।

आज मंगलबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपनको पराकाष्ठ भएको टिप्पणी गरेका हुन् ।

उनले अर्थतन्त्र निरन्तर ओरालो लागेको अवस्थामा गभर्नर निलम्बन हुनु सरकारको गैर जिम्मेवारीपन भएको स्पष्ट पारेका हुन् । उनले जुनसुकै देशमा पनि राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट हुनु सामान्य भएपनि सानो कुरामा विवाद हुँदा गभर्नर नै निलम्बन गर्नु गैर जिम्मेवारीपन भएको बताएका हुन् ।

यद्यपि यसअघि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई असहयोग गरेका कारण गभर्नर अधिकारीलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले आफूलाई गभर्नरले एकदम धेरै असहयोग गरेको बताएको सुनाएका थिए । गभर्नरलाई पदमुक्त गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएसँगै अधिकारी स्वतः निलम्बनमा परेका थिए ।

देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल राष्ट्र बैंकमा गभर्नर अधिकारीलाई निलम्वन गरेपछि उनको चौतर्फी आलोचना शुरु भएको छ । यता प्रमुख प्रतिपक्ष दल एमालेले यसअघि नै सरकारलाई गभर्नर अधिकारीमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु