५ जेष्ठ २०८१, शनिबार

सत्ता गठबन्धनको बैठकमा कांग्रेसद्वारा अर्थमन्त्री परिवर्तनको प्रस्ताव


जनार्दन शर्मा र महाप्रसाद अधिकारी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले अर्थमन्त्री परिवर्तन गर्न पाँच दलीय सत्ता गठबन्धनमा प्रस्ताव गरेको छ । सत्ता गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेको बालुवाटार विशेष स्रोतले बताएको छ ।

हिजो सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सो प्रस्ताव गरेका हुन् । हिजोको गठबन्धनको बैठकमा प्रचण्डलाई काँग्रेस नेताहरुले अर्थमन्त्री शर्मालाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई अर्थमन्त्रीमा तत्काल पठाउन समेत सुझाव दिएका थिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सामेल भएको बैठकमा काँग्रेस नेताहरुले सो प्रस्ताव गरेका थिए । आफ्नो पार्टीको अर्थमन्त्री परिवर्तन गर्न गठबन्धनमा कांग्रेसका नेताहरुले प्रस्ताव गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री शर्माको सक्रियतामा केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गरेपछि उनको चौतर्फी आलोचना शुरु भएको छ । यता प्रमुख प्रतिपक्ष दल एमालेले यसअघि नै सरकारलाई गभर्नर अधिकारीमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ ।

यद्यपि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई असहयोग गरेका कारण गभर्नर अधिकारीलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले आफूलाई गभर्नरले एकदम धेरै असहयोग गरेको बताएको सुनाएका थिए । गभर्नरलाई पदमुक्त गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएसँगै अधिकारी स्वतः निलम्बनमा परेका थिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधी गठबन्धनले देश बर्बाद बनाउँदै गरेको भनेर आक्रोश व्यक्त गर्दै गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिएका छन् । आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पटक-पटक देश श्रीलंका जस्तो हुन थालेको दोहोर्याएका थिए । उनले अहिले नै अर्थतन्त्र ध्वस्त भइसकेको भन्दै देश असल राष्ट्रतर्फ उन्मुख भई रहेको समेत बताएका थिए ।

यस्तै एमालेको प्रचार विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले मुलुकको अर्थतन्त्रको खस्किन नदिन गभर्नरमाथिको गरिएको कारबाही तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सोही कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले श्रीलंकामा जस्तै नेपालका अर्थमन्त्री शर्मा भाग्‍ने दिन आउन सक्ने चेतावनी दिएका थिए । पाण्डेले अर्थमन्त्री शर्मालाई जेल हाल्नुपर्ने समेत बताएका थिए ।

उनले विदेशबाट आएकाे पैसा नराेक्न राष्ट्र बैंकलाई पत्र लेख्ने अधिकार अर्थमन्त्री शर्मालाई नभएकाे भन्दै कारबाही हुनुपर्ने माग गरेका थिए । उनले अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको कानुन विपरीत हुने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !