१४ बैशाख २०८१, शुक्रबार

भारत भ्रमणमा प्रधानमन्त्री देउवासंगै चार मन्त्री पनि जाने


प्रधानमन्त्री देउवा बिमानस्थलमा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणतिरको मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका लागि भोलि जाँदै छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा चार जना मन्त्री पनि जाने भएका छन् ।

आज बिहिबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो । प्रधानमन्त्रीदेउवासँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाले दोस्रो राष्ट्रमा गर्न लागेको यो पहिलो औपचारिक भ्रमण हो । प्रधानमन्त्री देउवा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भोलि चैत १८ देखि २० गतेसम्म ३ दिने भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच पर्सी चैत १९ गते भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डलमा चार मन्त्रीहरु, उनकी पत्नी आरजु राणा देउवा र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् । भारतीय व्यवसायीहरुलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले चैत २० गते नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु