२४ बैशाख २०८१, सोमबार

स्थानीय निर्वाचनको रणनीति तय गर्न लोसपाको बैठक जारी


लोसपा संसदीय दलको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक जारी रहेको छ । लोसपाको केन्द्रीय कार्यालय बबरमहलमा कार्यकारिणी समितिको बैठक जारी रहेको हो ।

स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोसपाको बैठक जारी रहेको हो । जारी बैठकमा स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल भईरहेको बुझिएको छ । जारी बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुँदैछ ।

बाहिर नबताएपनि शेरबहादुर देउवा नेतृत्वको वर्तमान संघीय सरकारमा सहभागी हुनेबारे पनि छलफल हुनसक्ने बुझिएको छ । आजको बैठकमा देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइन सक्ने बुझिएको हो ।

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको वर्तमान सरकारमा सहभागी लागि सकारात्मक भएर अनुरोध गरेपछि लोसपाले पार्टीमा छलफल गरेर निर्णय लिने भएको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।

पार्टीमा छलफल भएर निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा लोसपाले प्रधानमन्त्री देउवासँग छलफल गर्ने भएको छ । अहिलेको रिक्त रहेका रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवाले आफैंसंग राखेका छन् ।

रिक्त रहेका यी दुइ वटै मन्त्रालय लोसपाले पाउने प्रवल सम्भावना रहेको छ । यद्यपि लोसपाले सरकारमा सहभागी हुने निर्णय गरेमा मन्त्रिमण्डल पुनर्गठन गरेरै भएपनि सरकारमा सहभागी गराउन देउवा तयार भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !