५ जेष्ठ २०८१, शनिबार

चैत १६ गते एकैदिन मुलुकका ७५३ वटै पार्टीका कमिटीलाई ओलीले सम्बोधन गर्ने


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकैदिन प्रविधिमार्फत सम्बोधन गर्न लागेका हुन् । सो पार्टीको आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले उक्त कार्यक्रम तय गरेको हो ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।

एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिँदै हिजो सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने विभिन्न ११ बुँदे कार्यसूचीमा निर्णय गरेको छ ।

सबै कार्यसूची सर्वसम्मतिले पारित गर्दै एकै लय तालका साथ जनताको घरदैलोमा जान र उनीहरुका समस्या बुझ्न बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ । बैठकको समापनका अवसरमा अध्यक्ष ओलीले आशन्न निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुनुपर्ने, पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुन निर्देशन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !