२४ बैशाख २०८१, सोमबार

आयोग र गठबन्धन मिलेर चुनाव सार्ने षडयन्त्र भइरहेको ओलीको आरोप


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचन सार्ने कलात्मक षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी एमालेको पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे सम्वाद भइरहेको दावी समेत गरे ।

अध्यक्ष ओलीले निर्वाचनका सन्दर्भमा प्रकट भएका लक्षणहरु स्वस्थ नभएको भन्दै आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान ठिक नभएको बताएका हुन् ।

उनले आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति समेत जनाए । उनले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरेपनि त्यसको कुनै औचित्य पुष्टि नहुने दावी गरे ।

ओलीले आयोग वर्तमान सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्ध लागेको आरोप लगाएका छन् । यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

निर्वाचन आयोग गठबन्धनसँग मिल्यो, एमालेविरुद्ध लाग्यो : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !