२२ बैशाख २०८१, शनिबार

प्रमुख प्रतिपक्ष दल एमालेद्वारा आज पनि संसद अवरोध जारी


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ’ गर्दै नाराबाजी गरेका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका छन् । एमालेका सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्ने जस्ता नारा लगाएका छन् ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ जना संसदलाई सभामुख सापकोटाले निष्काशन गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ ।

संघीय संसद सचिवायल सार्वजनिक गरिएको कार्यसूचीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा पेश गरिएको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने रहेको छ ।

यस्तै सम्भावित कार्यसूची अनुसार आज प्रतिनिधिसभा बैठकको पहिलो कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्ने रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु