२० बैशाख २०८१, बिहिबार

प्रमुख प्रतिपक्ष दल एमालेद्वारा आज पनि संसद अवरोध


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ’ गर्दै नाराबाजी गरेका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका थिए । एमालेका सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्ने जस्ता नारा लगाएका थिए ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ जना संसदलाई सभामुख सापकोटाले निष्काशन गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ ।

संघीय संसद सचिवायलद्वारा भर्खरै सार्वजनिक गरिएको कार्यसूचीमा महाभियोग प्रस्ताव समावेश गरिएकोले प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने भएको हो ।

संसद सचिवायलद्वारा सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची आज दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेश गर्ने कार्यतालिका रहेको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने आज पनि अनुपस्थित रहेको थियो । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ ।

यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले महाभियोग प्रस्तावका विषयमा शुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !