२२ बैशाख २०८१, शनिबार

प्रचण्डको दावी : सत्ता गठबन्धन आगामी चुनावसम्म जान्छ


प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने दावी गरेका छन् । पार्टीको आज शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको जिकिर गरे ।

प्रचण्डले गठबन्धन चुनावसम्मै जाने निश्चित भएको भन्दै देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएका छन् । गठबन्धन बनाउँदा एमसीसीलाई शर्तको रुपमा नराखेको भन्दै प्रचण्डले साझा नीति कार्यक्रममा पनि एमसीसी नराखिएको बताए ।

पूर्वनिर्धारित समयभन्दा झन्डै २ घण्टापछि राष्ट्रियसभा गृहमा शरु भएको बैठकमा ६ वटा एजेन्डामाथि छलफल हुने बताइएको छ । बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्ष बाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीमा प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच खटपट जारी रहेको छ । श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । आजको बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !