२० बैशाख २०८१, बिहिबार

एमसीसी अनुमोदन भएर देश, गठबन्धन र सरकार दुर्घटनाबाट बच्यो : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदवाट अनुमोदन भएर देश, सत्ता गठबन्धन र वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार दुर्घटनाबाट बचेको बताएका छन् ।

एमसिसी सम्झौता प्रतिनिधिसभावाट अनुमोदन भएपछि देशमा विकसित राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिन खुमलटारस्थित आफ्नै निजी निवासमा आज सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर प्रचण्डले हिजो आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै देश, सत्तारुढ गठबन्धन र वर्तमान सरकार आगामी निर्वाचनसम्म टिकिरहने निश्चित भएको बताएका हुन् ।

प्रचण्डले कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई उचालेर एमसीसीमा आफूलाई अलग्याउन खोजेको पनि आरोप लगाए । उनले साविक नेकपाका बेला आफूले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन गर्न हुँदैन बताएपछि फरक ढंगबाट बहस सिर्जना भएको बताए ।

समाज नै विभाजित हुने गरी विवाद सिर्जना भएको विषयमा राष्ट्रिय सहमति कायम गरेर अनुमोदन गर्नुपर्ने बताउँदै जानकारी दिएका उनले आफ्नैै सल्लाहमा प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट गएको बताए ।

प्रचण्डले एमसीसी सम्झौता अनुमोदनसँगै आगामी निर्वाचन पनि सुनिश्चित गरेको दाबी गर्दै एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको बताए ।

उनले एमसीसी पारित भएकोमा आफूलाई खुसी लागेको बताउदै देश, आफ्नो पार्टी, वर्तमान सत्ता गठबन्धन र सरकार समेत दुर्घटनाबाट बचेको सांकेतिक रुपमा व्यक्त गरेका छन् । व्याख्यात्मक टिप्पणीले राष्ट्र एकताबद्ध भएको र जनता एक ठाउँमा आएको उनको दावी छ ।

एमसीसी पास गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेकोले एमसीसी अनुमोदनबारे आफ्नो धारणा उनले सार्वजनिक गरेका हुन्  । देश र जनताको हितबाहेक आफ्नो अरु कुनै स्वार्थ नभएको स्पष्ट पार्न पार्टीका नेता-कार्यकर्तामाझ आफूप्रति विश्वास कायम राख्ने प्रयासस्वरुप उनले प्रचण्ड पत्रकार सम्मेलन गरेको आशय स्पष्ट रुपमा देखिन्थ्यो ।

एमसिसी संसदवाट अनुमोदन भएपछि पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गराई छाडेकोमा आम देशभक्त नेपाली जनताले कालो दिनको रुपमा लिने टिप्पणी गरेका छन् । उनले सम्पुर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं भनेर आब्हान समेत गरेका छन् ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारीप्रति यसअघि नै माओवादी केन्द्रका केहि नेताले असहमति जनाएका थिए । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका थिए । नेकपा (माओवादी केन्द्र) एमसिसी सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !