२१ बैशाख २०८१, शुक्रबार

ओलीलाई देउवाको प्रस्ताव : सबैको सहमतिमा एमसीसी अनुमोदन गरौँ


शेरबहादुर देउवा र केपी ओली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सबैको सहमतिमा अनुमोदन गर्ने प्रस्ताव राखेका छन् ।

आज शुक्रबार राती ओलीको निजी निवास बालकोटमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भएको भेटवार्तामा प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी अनुमोदन गर्ने विषयमा बृहत छलफल भएको छ ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । जवाफ ओलीले संसद्मा उपस्थित हुने वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आफ्नो पूर्ववत अडान कायम राखेको उनले जानकारी दिए ।

छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए भने प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए ।

छलफलपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर सो भन्दा अघि आफूहरुले कारवाही गरेका १४ सांसदको सुचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा पनि राखेको र छलफल गर्दै अघि बढ्ने सहमति भएको उनले बताए ।

आज भएको छलफलमा काँग्रेसको तर्फवाट सभापति देउवाको साथै उपसभापति पूर्ण बहादुर खड्का, काँग्रेस महामन्त्री गगन थापा र सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए भने एमालेको तर्फवाट अध्यक्ष ओलीको साथै एमाले महासचीव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवाली सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !