२१ बैशाख २०८१, शुक्रबार

प्रचण्डको ओलीलाई प्रस्ताव : राष्ट्रिय सरकारको नेतृत्व गर्दै अव प्रधानमन्त्री बन्नुस्


ओली र प्रचण्डवीच छलफल शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्न प्रस्ताव राखेको बुझिएको छ । प्रचण्डले ओलीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको एमालेका एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओली वीचको छलफल सकिएलगत्तै ओली प्रचण्डसँग छलफलमा जुटेका थिए । देउवासँगको छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरु ओलीको च्याम्बरमा वार्ता गर्न पुगेका थिए ।

छलफलमा एमालेका तर्फबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए भने माओवादीको तर्फबाट प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ र नेता शक्ति बस्नेत सहभागी रहेका थिए ।

प्रधानमन्त्री देउवा बाहिरिएलगत्तै एक-अर्कामा पानी बाराबारको सम्वन्ध भएका प्रचण्ड ओलीको क्याबिनमा छलफलका लागि पुग्नुलाई नेपाली राजनीतिमा विशेष चासोका साथ हेरिएको छ । एमालेका अध्यक्ष ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका थिए । ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताएका थिए ।

छलफलमा प्रचण्डले प्रतिनिधिसभाको अवरोध खोलेर छलफलको वातावरण बनाउन ओलीसँग आग्रह गरेकोमा ओलीले पहिले आफूहरुले कारबाही गरेका १४ जना सांसदहरुलाई प्रतिनिधिसभामा सहभागी नहुने वातावरण बनाउनुपर्ने शर्त राखेका थिए ।

माओवादी केन्द्रका नेताहरुले भने एमसीसी राष्ट्रियताको मुद्दासँग जोडिएकोले पहिले यसलाई असफल पार्न आग्रह गरेका थिए । प्रचण्डले विगतका असमझदारीलाई बिर्सेर एमसीसीलाई पारित नगर्नेमा एक हुनुपर्ने बताएका थिए ।

एमसीसीका कारण सत्ता गठबन्धन अघि बढ्ने सम्भावना कम भएको भन्दै प्रमुख प्रतिपक्ष एमालेसँग छलफलमा तीब्रता दिएका प्रधानमन्त्री देउवालाई आश्चर्यचकित पार्दै प्रचण्डले फेरि ओलीसँग छलफल शुरु गरेर नेपाली राजनीतिमा अर्को क्रमभंग गर्दै ओलीसंग राजनीतिको कोर्स करेक्शन गर्न खोजेका छन् ।

एमसीसी संसदवाट अनुमोदन गर्ने विषयमा विपक्षमा उभिएको माओवादी सत्ता गठबन्धनबाट बाहिरिने प्रवल सम्भावना रहेको छ । यस्तै एमसीसी पारित गर्न सघाउने शर्तमा एमाले सरकारमा जाने र सरकारलाई समर्थन दिने पक्षमा रहेको ओलीनिकट नेताहरुको भनाइ छ ।

माओवादीले सरकार छाड्ने, एमसीसी पारित गर्न सहयोग नगरे माओवादीका मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन् । यस्तो विकसित राजनीतिक घटनाक्रम विकास भई रहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि भेटवार्ताले कतै सभामुख अग्निप्रसाद सापकोटालाई नहटाउने र संसदमा टेवुल भएको एमसीसी अनुमोदन नगर्ने शर्तमा प्रचण्डले देउवा सरकार ढालेर ओलीलाई नयाँ प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !