१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा कांग्रेस र एमालेका नेताहरु बीचको दोस्रो चरणको वार्ता


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु बीचको दोस्रो चरणको वार्ता भएको छ । यसअघि संघीय संसद भवन नयाँ वानेश्वरमा काँग्रेस र एमालेका नेताहरुवीच भएको भेटवार्ता साँझ ७ बजे पुनः बस्ने गरी सकिएको थियो ।

बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसको तर्फवाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतहरु सहभागी भएका थिए भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल सहभागी रहेका थिए ।

संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का नेताहरूसँग छलफल गरेर ओलीसहित नेताहरू बालुवाटार पुगेर काँग्रेसका नेताहरुसंग छलफल जारी राखेका हुन् । काँग्रेस जसरी भएपनि संसदमा टेवुल भएको एमसीसी अनुमोदन गर्न चाहन्छ ।

फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गर्नेपर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेको साथ खोजेका छन् । उनले एमसीसी पारित गर्न एमालेका सबै मागमा छलफल गर्न खुला रहेको उद्घोष गरेका छन् ।

प्रधानमन्त्री देउवालाई एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त गर्नुपर्ने वा सभामुख अग्नि सापकोटा हटाउन कांग्रेस तयार हुनुपर्ने माग गर्दै आएको छ । एमसीसी पारित गर्न एमालेको साथ र एमालेका माग सम्बोधनमा कांग्रेसको सहयोगको विषयमा रहेर बालुवाटारमा दोस्रो चरणको वार्ता जारी रहेको हो ।

काँग्रेस महामन्त्री गगन थापाका अनुसार संसद् भवनमा भएको छलफलमा प्रधानमन्त्री देउवाले ओलीलाई एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गरेकोमा ओलीले आन्तरिक छलफल गरेर बेलुकी छलफल गर्ने बताएका थिए । देउवानिकट काँग्रेस स्रोतका अनुसार जारी छलफललाई सत्ता सहकार्यको निर्णायक प्रयासका रूपमा हुनसक्ने बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए । प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी छलफलका लागि पेश गरिने कार्यसूची छलेर अर्थमन्त्री जनार्दन शर्मालाई पर्वतको सदरमुकाम कुस्मा प्रचण्डले पठाएपछि देउवा उनीसँग आक्रोशित भएका छन् ।

यसअघि गत आइतबारको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा टेवुल गरेका थिए । सो दिन पनि अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।

देउवा र ओलीवीच यसअघि भएको बालुवाटार वार्तामा भित्रभित्रै ‘जेन्टल एग्रिमेन्ट’ भएको भन्ने चर्चा चल्न थालेको थियो । एमसीसी संसदमा टेवुल गर्न दिने तर अनुमोदन गर्न नदिने प्रचण्ड र माधव नेपालको दोहोरो चरित्रले देउवा वाक्कदिक्क भईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !