२४ बैशाख २०८१, सोमबार

निर्वाचन आयोगले आइतबारदेखि निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’ गर्ने


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट आज फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता-सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुने भएको हो ।

निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धीत अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मिट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ ।

दैनिक रुपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए । दैनिक रुपमा हुने प्रेस मीटले निर्वाचन सम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्नेछ ।

दैनिक प्रेस व्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिएको छ । निर्वाचनसँग सम्वन्धीत सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहजरुपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिक रुपमा हुने प्रेस मिटमा उपस्थितिका लागि सवै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ । आयोगले प्रेस मिट सम्बन्धी सूचना वेभ साइटमा राख्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !