२५ बैशाख २०८१, मंगलबार

एमसीसी टेवुल गरे गठबन्धन टुट्न सक्ने देउवालाई प्रचण्ड-माधवको चेतावनी


प्रचण्ड र देउवा

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सरकारले संसदमा टेवुल गरे गठबन्धन टुट्न सक्ने चेतावनी प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले दिएका छन् ।

सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो भएको छलफल बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी सम्झौतालाई संसदवाट पास गर्ने कि नगर्ने भन्ने मुख्य विषयमा केन्द्रित छलफलमा आ-आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

तीन नेतारुवीच भएको छलफलमा एमसीसी संसदमा टेबल गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाईलाई प्रचण्ड र माधवले ठाडै अस्वीकार गरेको बुझिएको छ ।बैठकमा प्रधानमन्त्री देउवाले अव ढिला नगरी एमसीसीलाई प्रतिनिधिसभाको आगामी बैठकमा टेबल गरेर छिनोफानो गर्नुपर्ने धारणा राखेका थिए ।

तर प्रधानमन्त्री देउवाको सो प्रस्तावलाई प्रचण्ड र नेपालले अस्वीकार गरेका हुन् । प्रचण्ड र नेपालले एमसीसी संसद्मा टेबल गर्नु अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने प्रचण्ड र नेपालको धारणा रहेको थियो ।

प्रचण्ड र नेपालको उक्त धारणाको जवाफ दिंदै प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने जिकिर गर्दै एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने आफ्नो अडान दोहोर्‍याएका थिए । प्रधानमन्त्रीले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले जबर्जस्ती गरेर एमसीसी टेवुल गर्ने हो भने गठबन्धन टुट्न सक्ने चेतावनीसमेत दिएको बुझिएको छ ।

अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिएतापनि उक्त विषयमा सत्तारुढ गठबन्धनमा नै चरम मतभेद रहेको छ । केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेपाली राजनीतिक दलका नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने सम्मको धम्की दिएपछि प्रधानमन्त्री देउवा लगायत अन्य नेताहरु एमसीसी पास गर्नुपर्ने दवावमा छन् ।

यो पनि पढ्नुहोस्

एमसीसी संसदमा टेबल गर्नुपर्ने देउवाको प्रस्तावलाई प्रचण्ड-माधवद्वारा अस्वीकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !