१४ बैशाख २०८१, शुक्रबार

देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र

देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्रीले 'सहसचिव'को स्तरमा झरेर विदेशीलाई पत्र लेखेकोमा मिश्रद्वारा खेद प्रकट


रबिन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकट उन्मुख भएकोमा चिन्ता प्रकट गरेका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो लेख्दै अध्यक्ष मिश्रले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

मिश्रले देशको बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा र भूतपूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेकोमा आपत्ति व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएपछि मिश्रको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

देउवा र प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित पत्र नै पठाएको खुलासा भएको हो । यसअघि देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए ।

यस्तै मिश्रले बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्नु पनि आपत्तिजनक भएको स्मरण गरेका छन् । तत्कालिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको समयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलिसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेका थिए ।

मिश्रले यी सवै प्रसंगलाई जोडेर यस्ता देशलाई धोका दिने नेताहरुको पछाडि देशका धेरै वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिएकोमा पनि आपत्ति जनाएका हुन् । यस्ता अनेक घटनाक्रमलाई हेर्दा बुझे हुन्छ देश गम्भीर संकट उन्मुख भनेर उनले संकेत गरेका हुन् ।

मिश्रले लेखेका छन्, ‘जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्, बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन् र तिनकै पछाडि देशका धेरै वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिन्छन्, बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !