२३ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु


माओवादी महाधिवेशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । माओवादी महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो ।

निर्वाचन समितिले महाधिवेशनस्थल काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा १७४२ जनाको नामावली टाँसेको छ । माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

यद्यपि माओवादी शीर्ष नेताहरु केन्द्रीय कमिटी सदस्यमा सहमति जुटाउन छलफलमा छन् । दुई घण्टा समय लिएर सहमति जुटाउने प्रयास गरिएको छ । सहमति नभएमा मतदानमा जाने अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा बताइसकेका छन् ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी गर्नुभएको छैन, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिनु हुने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेटन लागिएको छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !