१४ बैशाख २०८१, शुक्रबार

एमसीसी राष्ट्रघाती छैन, संसदवाट पारित हुन्छ : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती नभएकोले संसदवाट पारित हुने स्पष्ट पारेका छन् ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फवाट शुभकामना दिंदै प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानुनले चल्ने भएकोले कुनै हालतमा राष्ट्रघाती नभएको जिकिर गरेका हुन् ।

प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको बरु नेपालको हितमा रहेको बताए । उनले आफूले अध्ययन गर्दा कतै राष्ट्रघात सम्बन्धी विषय नभेटेको पनि बताए । उनले एमसीसी राष्ट्रघाती भन्नेले पढ्दै नपढेको बताएका छन् ।

आफू देशका लागि लडेको र प्रधानमन्त्री समेत भइसकेकाले राष्ट्रघातको पक्षमा नउभिने बताए । नेपालको कानुन मान्छु भनेको भन्दै उनले राम्ररी बुझेर मात्र बोल्न आग्रह गरे । उनले एमसीसी नेपालको हितमा रहेको बताउदै एमसीसी राष्ट्रघाती भन्नेले सम्झौता नै नपढेको बताए ।

प्रधानमन्त्री देउवाले आफू पनि राष्ट्रवादी नेपाली भएको स्पष्ट पार्दै देशलाई राष्ट्रघाती हुने कुनै सम्झौता नगर्ने बताए । उनले महाधिवेशनको उद्घाटन सत्रमा केही नेताहरुले सम्बोधनका क्रममा एमसीसी राष्ट्रघाती भएको भनेर संसदवाट पारित गर्नु नहुने भनेकोमा गुनासो समेत गरे ।

उनले देश विकासको लागि अन्तर्राष्ट्रिय कानुनले चल्ने एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको ऋण समेत लिने गरेको दृष्टान्त व्यक्त गरे । उनले राजनीतिक दलहरुवीच राष्ट्रिय सहमति गरेर संसदवाट एमसीसी पारित गर्ने बताए ।

उनले गठबन्धन पनि पछिसम्मै चल्ने बताउदै गठबन्धन नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नभएको पनि स्पष्ट पारे । देउवाले गठबन्धनको सरकार कसैका विरुद्ध नभएको पनि स्पष्ट पार्दै संसद्लाई पूरा अवधि चलाउनका लागि गठबन्धन बनेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी कुराहरू छिट्टै समाधान गरेर स्थायी शान्तिमा मुलुकमा ल्याउने बताए ।

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा नेपालको राजनीतिमा ठूलो योगदान गरेको बताए । उनले प्रचण्डका कारण देशले संविधान पाएको बताउदै समावेशी, संघीयता र गणतन्त्र भएको संविधान ल्याउनमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !