२० बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे आठौँ महाधिवेशनको उद्घाटन


प्रचण्डले गरे आठौँ महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आठौँ महाविधेशनको उद्घाटन गरेका छन् । अध्यक्ष प्रचण्डले केही बेरअघि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पानसमा बत्ती बालेर आठौँ महाधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको १२९औँ जन्मजयन्तीका अवसरमा महाधिवेशनको उद्घाटन गरिएको हो । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको तस्विरमा माल्यापर्ण गरे । यस्तै, उद्घाटन सत्रमा महिला समूहको पञ्चेबाजा लगायतको प्रस्तुति पनि समावेश गरिएको छ ।

देशव्यापी रूपमा कार्यकर्ता पङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने गरेको निर्णयलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ ।

स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टीपङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिएका थिए । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै यसलाई आठौँ महाविधेशनको नाम दिइएको छ ।

महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ । महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिने जनाइएको छ । यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ । मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको समिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ । पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ । माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ । कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ ।

माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !