२२ बैशाख २०८१, शनिबार

बालुवाटारमा नवनिर्वाचित सभापति देउवालाई बधाई दिनेहरुको लर्को


बालुवाटारमा देउवालाई बधाई दिनेहरुको लर्को

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मंगलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् ।

काठमाडौँमा भएको काँग्रेसको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिद्वन्दी उम्मेदवार डा. शेखर कोइरालालाई हराएर देउवा विजय भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् ।

देउवा सभापतिमा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनलाई बधाई दिनेहरुको लर्को लागेको छ । देउवालाई बधाई दिन मन्त्रीहरु, काँग्रेस महाधिवेशनमा काठमाडौँ आएका प्रतिनिधिहरू, नेता-कार्यकर्ताहरु र शुभेच्छुकहरुको भिड लागेको हो ।

यस्तै नेपाल काँग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित भएका देउवालाई बधाई र शुभकामना दिएका छन् । नेता पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् । पौडेलले बुधबार विज्ञप्ति निकालेर देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन् ।

त्यस्तै नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

काँग्रेसको सभापतिमा दोस्रो पटक निर्वाचित देउवा यसअघि काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट सभापतिमा देउवाले सभापति पदका अर्का प्रत्यासी रामचन्द्र पौडेललाई हराएका थिए । यस्तै पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !