२१ बैशाख २०८१, शुक्रबार

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी दर्ता, कसले मार्ला बाजी ?


देउवा, सिंह, निधि, कोइराला, गुरुङ र न्यौपाने फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम अनुसार राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार हुन लागेको निर्वाचनमा ६ जनाको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापतिको निर्वाचन हुने व्यवस्था छ । नयाँ सभापति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा सभापतिको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि पौडेल सभापतिको रेसवाट बाहिरिएका छन् भने उनको पक्षवाट सिंह र कोइराला दुबै जनाले उम्मेदवारी दर्ता गराएसंगै सभापतिको उम्मेदवारको संख्या पनि बढेको हो । हिजो बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो ।

कांग्रेसको भावी सभापतिका लागि ६ जनाको उम्मेदवारी परेपनि ४ जना शीर्ष नेताहरु देउवा, निधि, सिंह र कोइरालाबीच मात्र टकराव हुने देखिएको छ । यद्यपि गुरुङ र न्यौपानेको उम्मेदवारी दर्ता गरेपनि कांग्रेसमा युवापुस्ताले नै नेतृत्वको दावी गर्नुपर्ने आवाजलाई मात्र प्रतीकात्मक रुपमा सम्बोधन गरेर साहसी यूवा नेताको परिचय बनाउन मात्र सफल हुने देखिन्छ ।

कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपनि अहिले देखिएका उम्मेदवारहरुले कांग्रेस परिवर्तनको एजेण्डा आत्मसात गर्न नसकेको भन्दै गुरुङ र न्यौपानेले उम्मेदवारी दिएको देखिपनि उनीहरुको उम्मेदवारीले अन्य ४ जना सभापतिका प्रत्यासीलाई टक्कर दिने सम्भावना देखिंदैन ।

यद्यपि गुरुङ र न्यौपानेले पार्टीमा बारम्बार परीक्षण भइसकेका अनुहारलाई फेरि अवसर दिन नहुने बताएका छन् । तर अब पनि कांग्रेसमा युवापुस्ताले नै नेतृत्व गर्नुपर्ने आवाजको चर्को रुपमा जवर्जस्त स्थापित भने भएको छ । काँग्रेसभित्र नेतृत्व परिवर्तन, रुपान्तरण र नयाँ पुस्ताको सरोकार समेट्न दुवै जनाको उम्मेदवारीले पुराना पुस्ताका शीर्ष नेताहरुलाई अव सोच्न बाध्य भने परेको देखिन्छ ।

कसैले पनि हार्छु भनेर उम्मेदवारी दिएको हुँदैन तर काँग्रेसभित्र यस महाधिवेशनले कांग्रेसको यूवा नेतृत्व पाउने सम्भावना न्यून नै देखिन्छ । दुवै जना यूवा उम्मेदवारले आफूहरुलाई युवा महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहने अपेक्षा भने गरेका छन् ।

केही वर्ष अघिदेखि नै काँग्रेसमा देउवा र पौडेललाई अब अभिभावक भएर बस्नुपर्छ भनेर यूवा नेताहरुले नभन्दै आएका भने होइनन् । दुवै जना यूवा उम्मेदवारले उम्मेदवारी फिर्ता लिने पनि देखिंदैन । तर उनीहरुको साहसलाई भने प्रशंशा भने गर्नेपर्छ ।

अव चर्चा गरौ सभापतिका प्रत्यासी ४ जना शीर्ष नेताहरुको । बहालबाला सभापति एवं प्रधानमन्त्री देउवा सभापतिमा पुन: दोहोरिन चाहेका छन् भने उनलाई कोइराला, निधि र सिंहले चुनौति दिएका हुन् । देउवालाई टक्कर दिने अन्य ४ जनामा कोइराला मात्र दह्रो प्रतिस्पर्धी देखिएका छन् । दुबै समूहले सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ वटै पदमा उम्मेदवारी दिएका छन् ।

सभापतिको उम्मेदवारी दिएका देउवा र कोइरालाले पदाधिकारीसहित सबै पदमा प्यालनसहित उम्मेदवारी दिएका छन् भने सिंहले पदाधिकारीमा एक उपसभापति र एक महामन्त्रीमा उम्मेदवार बनाएका छन् । यस्तै विमलेन्द्र निधिले पनि पदाधिकारीमा आफ्नो समूहबाट सभापतिसहित एक उपसभापति र एक महामन्त्रीको उम्मेदवार उठाएका छन् ।

काँग्रेसमा देउवालाई अधिल्लो महाधिवेशनसम्म साथ दिएर एउटै समूहमा रहेर अढाई दशक लामो सहकार्य गरेका निधि १४ औं महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिएसंगै देउवासँग औपचारिक रुपमा अलग भएका छन् । संस्थापनबाट छुट्टिएर निधिले सभापतिमा उम्मेदवारी दिएपनि प्यानल नै बनाउन नसकेर निधिको उपस्थिति कमजोर देखिएको छ ।

तर निधि देउवावाट अलगिएपछि संस्थापन देउवाको केही भोट भने अवश्य निधिले काट्ने देखिन्छ । यद्यपि पुरै प्यानल घोषणा गर्न नसकेका निधिलाई देउवाले उपसभापतिमा मनाउन सक्ने सम्भावना न्यून देखिएको भने छ । तर निधिले उम्मेदवारी फिर्ता नलिई यो महाधिवेशनमा उपस्थिति मात्र जनाएर अर्को महाधिवेशनको लागि आफूलाई प्रवल दावेदारको रुपमा स्थापित गर्न चाहेको देखिन्छ ।

तर १३औं महाधिवेशनमा देउवासंग सभापतिमा लडेका सिटौलाले अहिले देउवालाई साथ दिएका छन् । काँग्रेसमा सिटौला पक्ष शक्तिशाली नभएपनि त्यति कम्जोर भने नभएकोले देउवालाई राम्रो साथ मिलेको भने छ । तर देउवालाई साथ दिंदै आएका विश्वप्रकाश शर्मा सिंह प्यानलमा गएसंगै देउवालाई केही धक्का पर्ने देखिन्छ ।

यता कोइरालालाई यसअघि साझा सभापति उम्मेदवारीको दावी गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको बलियो साथ रहेको छ । यसरी कोइराला परिवारको केही भोट सिंहलाई जाने देखिपछि सभापतिका प्रत्यासी कोइरालालाई धक्का लागेको छ ।

पौडेल समूहबाट अलग भएर सभापतिमा उम्मेदवारी दिएका सिंह भने केही कमजोर देखिएका छन् । तर उनलाई महामन्त्रीको उम्मेदवार बनेका बनेका शर्माले देउवा समूहको केही भोट सिंहलाई जाने देखिएसंगै केही राहत महासुस भने भएको छ । कोइराला परिवारमै फुट आएर सुजाता कोइराला प्रकाशमानको उपसभापति उम्मेदवार बन्न पुगिन् भने उपसभापतिमा उम्मेदवारी दिएका महेश आचार्य पनि यही समूहमा रहेको सिंह स्रोतको दाबी छ ।

कांग्रेसको यो महाधिवेशनले पार्टीभित्र नयाँ समीकरण बनाएपनि प्रतिस्पर्धा भने पुरानै समूहबीच हुने देखिन्छ । सभापतिमा सिंह भन्दा केही शक्तिशाली देखिएका कोइराला र देउवावीच टक्कर हुने देखिन्छ । कोइरालाले २/२ जना यूवा उपसभापति र महामन्त्री उठाएर युवाहरुको सेन्टिमेन्ट भोट क्याप्चर गर्ने रणनीति अपनाएको देखिन्छ ।

तर संस्थापनइतर समूह नै दुई प्यानलमा विभक्त भएकोले यसको असर कोइरालालाई पक्कै पर्ने भएकोले यसपटक पनि देउवा सभापतिमा दोहरिने निश्चित जस्तै छ । संस्थापनइतर समूहमा विभक्त भई प्रकाशमान सिंह सभापतिमा उठाएर कोइराला परिवारको पुरानो बिरासतलाई फुटेकोले ‘भाई फुटे, गवार लुटे’ भनेझैँ संस्थापनइतर समूहवाट साझा उम्मेदवार दिन नसकेकोले यसपल्ट पनि सभापतिमा दोहरिने इच्छा राखेका देउवाले नै सभापतिको बाजी मार्ने पक्का देखिन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !