९ मंसिर २०८१, आइतबार

देउवाले बोलाएको बैठक पौडेल र प्रकाशमानले किन गरे बहिस्कार ?


शेरबहादुर देउवा, रामचन्द्र पौडेल र प्रकाशमान सिंह

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको अन्तिम केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी रहेको छ । बिहान साढे ११ बजे बोलाइएको बैठक पौने २ बजेदेखि मात्र शुरु भएको हो ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै प्रकाशमान सिंहले पनि पार्टीको अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा एकदिन अघि मात्र बस्न लागेको कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठकमा पौडेल र सिंह नगएका हुन् ।

भोलि शुक्रबारदेखि काँग्रेसको १४औँ महाधिवेशन शुरु हुँदैछ । तर जारी उक्त बैठकमा आफू सहभागी नहुने काँग्रेसका वरिष्ठ नेता पौडेलले सभापति देउवालाई जानकारी गराएका छन् ।

पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका छन् । पौडेलले आफू व्यस्त भएकोले बैठकमा उपस्थिति हुन नसक्ने भनेर सभापति देउवालाई अवगत गराएका छन् ।

सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिष्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।

आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी गर्नुका साथै १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा सभापति देउवाले पदाधिकारीमा दाबी गर्ने आकांक्षीहरुलाई मिलाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेपछि पौडेल र सिंहले आज देउवाले बोलाएको केन्द्रीय कमिटी बैठक बहिस्कार गरेको बुझिएको छ ।

पौडेलनिकट स्रोतका अनुसार एक महिला उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री थप गर्ने तयारी सभापति देउवाले गरेका छन् । देउवाले आज जारी केन्द्रीय समिति बैठकमा नै पदाधिकारी थपको प्रस्ताव लैजानेसमेत तयारी गरेका थिए ।

तर संस्थापनइतर पौडेल समूहले पदाधिकारी थप्ने प्रस्तावलाई स्वीकार गरेको छैन । सो विषयको सूचना पाएपछि पौडेलले बैठक नै बहिष्कार गर्ने निर्णय गरेका हुन् । पौडेलनिकट स्रोतका अनुसार पदाधिकारीको संख्या थपको विषयमा नेता पौडेलको असन्तुष्टी रहेको र बैठकमा नजाने निर्णय गरेको बताएका छन् ।

आजकै बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य समेत थप्ने प्रस्ताव लैजाने गृहकार्यमा रहेको देउवा पक्ष बैठकमा वरिष्ठ नेता पौडेल र नेता सिंह अनुपस्थित भएपछि सो प्रस्तावबाट पछि हटेको छ ।

यस्तै हिजोमात्र कांग्रेसका वरिष्ठ नेता पौडेलले आफ्नो समूहवाट सभापति पदको लागि सबै लड्ने भए आफू पार्टीबाटै अलग भएर राजनीति छाड्ने चेतावनी दिएका थिए । संस्थापनइतर आफ्नो समूहबाट सभापति पदको उम्मेदवार टुंगो लगाउन चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा भएको बैठकमा पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा हुने बताएका थिए ।

पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका थिए । तर पौडेलको सो दबाबलाई बेवास्ता गर्दै सिंह र कोइरालाले आफ्नो अडान अहिलेसम्म छोडेका छैनन् । यसरी संस्थापनइतर पौडेल समूहमा सभापतिको साझा उम्मेद्वारको विषयलाई लिएर पौडेल तनावमा भएको प्रष्ट हुन्छ ।

कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा भोलि शुक्रबारदेखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो पनि पढ्नुहोस्

देउवाले बोलाएको बैठक पौडेलका साथै प्रकाशमानले पनि गरे बहिस्कार

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक जारी, रामचन्द्र पौडेलले गरे बहिस्कार

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक रामचन्द्र पौडेलले किन गरे बहिस्कार ?

सबै लड्ने भए पार्टीबाटै अलग भएर राजनीति छाड्ने पौडेलको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !