१३ बैशाख २०८१, बिहिबार

देउवाले बोलाएको बैठक पौडेलका साथै प्रकाशमानले पनि गरे बहिस्कार


रामचन्द्र पौडेल र प्रकाशमान सिंह

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको अन्तिम केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी रहेको छ । बिहान साढे ११ बजे बोलाइएको बैठक पौने २ बजेदेखि मात्र शुरु भएको हो ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै प्रकाशमान सिंहले पनि पार्टीको अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा एकदिन अघि मात्र बस्न लागेको कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठकमा पौडेल र सिंह नगएका हुन् ।

भोलि शुक्रबारदेखि काँग्रेसको १४औँ महाधिवेशन शुरु हुँदैछ । तर जारी उक्त बैठकमा आफू सहभागी नहुने काँग्रेसका वरिष्ठ नेता पौडेलले सभापति देउवालाई जानकारी गराएका छन् ।

पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका छन् । पौडेलले आफू व्यस्त भएकोले बैठकमा उपस्थिति हुन नसक्ने भनेर सभापति देउवालाई अवगत गराएका छन् ।

सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिष्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।
आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी गर्नुका साथै १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ ।

आजकै बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य समेत थप्ने प्रस्ताव लैजाने गृहकार्यमा रहेको देउवा पक्ष बैठकमा वरिष्ठ नेता पौडेल र नेता सिंह अनुपस्थित भएपछि सो प्रस्तावबाट पछि हटेको छ ।

कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा भोलि शुक्रबारदेखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो पनि पढ्नुहोस्

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक जारी, रामचन्द्र पौडेलले गरे बहिस्कार

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक रामचन्द्र पौडेलले किन गरे बहिस्कार ?

सबै लड्ने भए पार्टीबाटै अलग भएर राजनीति छाड्ने पौडेलको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !