१३ बैशाख २०८१, बिहिबार

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक रामचन्द्र पौडेलले किन गरे बहिस्कार ?


रामचन्द्र पौडेल

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा एकदिन अघि मात्र बस्न लागेको कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठकमा पौडेलले नजाने भएका हुन् ।

भोलि शुक्रबारदेखि काँग्रेसको १४औँ महाधिवेशन शुरु हुँदैछ । बिहान साढे ११ बजे बोलाइएको बैठक केहीबेर अघिदेखि मात्र शुरु भएको छ । तर जारी उक्त बैठकमा आफू सहभागी नहुने काँग्रेसका वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् ।

पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका छन् । पौडेलले आफू व्यस्त भएकोले बैठकमा उपस्थिति हुन नसक्ने भनेर सभापति देउवालाई अवगत गराएपनि यसभित्र ठूलो कारण रहेको हुनसक्ने पौडेलनिकट नेताहरु बताउछन् ।

सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिष्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।

हिजोमात्र कांग्रेसका वरिष्ठ नेता पौडेलले आफ्नो समूहवाट सभापति पदको लागि सबै लड्ने भए आफू पार्टीबाटै अलग भएर राजनीति छाड्ने चेतावनी दिएका थिए । संस्थापनइतर आफ्नो समूहबाट सभापति पदको उम्मेदवार टुंगो लगाउन चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा भएको बैठकमा पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा हुने बताएका थिए ।

पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका थिए । तर पौडेलको सो दबाबलाई बेवास्ता गर्दै सिंह र कोइरालाले आफ्नो अडान अहिलेसम्म छोडेका छैनन् । यसरी संस्थापनइतर पौडेल समूहमा सभापतिको साझा उम्मेद्वारको विषयलाई लिएर पौडेल तनावमा भएको प्रष्ट हुन्छ ।

कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा भोलि शुक्रबारदेखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो पनि पढ्नुहोस्

सबै लड्ने भए पार्टीबाटै अलग भएर राजनीति छाड्ने पौडेलको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !