१४ बैशाख २०८१, शुक्रबार

सबै लड्ने भए पार्टीबाटै अलग भएर राजनीति छाड्ने पौडेलको चेतावनी


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहवाट सभापति पदको लागि सबै लड्ने भए आफू पार्टीबाटै अलग भएर राजनीति छाड्ने चेतावनी दिएका छन् ।

संस्थापनइतर आफ्नो समूहबाट सभापति पदको उम्मेदवार टुंगो लगाउन चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा भएको बैठकमा पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा हुने बताएका हुन् ।

“सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, अलग हुन्छु म अब घरमै आराम गर्छु भनेर भन्नुभयो,” नेता डा. रामशरण महतले संचारकर्मीसँग कुरा गर्दै भने, “अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन । सबैजना आ आफ्नो अडानमा हुनुहुन्छ ।”

पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन् । मंगलबारदेखि साझा उम्मेद्वार तय गर्न लगातार छलफल जुटे पनि सिंह र कोइरालाले एक अर्कालाई नछाडेपछि पौडेलले दबाब दिएका हुन् ।

पौडेलले आफ्नो समूहबाट सिंह र कोइराला दुवै सभापतिको उम्मेद्वार भएको अवस्थामा राजनीति नै छाड्नेसम्मको चेतावनी दिएका हुन् । चाक्सीबारेको छलफल विना निष्कर्ष सकिएपछि पौडेल समूहका नेताहरु निराश भएर फर्किएका छन् ।

यसरी कांग्रेसको संस्थापनइतर समूहमा एक जना मात्रै साझा सभापतिको उम्मेदवार बन्ने सम्भावना कम हुँदै गएको नेताहरुले बताएका छन् । प्रकाशमान सिंह र शेखर कोइराला भने अडानबाट पछि हट्ने संकेतसम्म देखाएका छैनन् ।

उनले भित्रको बैठकमा सबैजना पछि नहट्ने अवस्थामा देखिएपछि नेता रामचन्द्र पौडेलले आफू पार्टीबाटै बिदा हुने चेतावनी दिएको बताए । पौडेलले एउटै उमेदवार बन्ने भए आफू त्याग गर्न तयार रहेको तर कसैले पनि अडान नछाड्ने हो भने आफूसँग दुईवटा विकल्प रहेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !