४ जेष्ठ २०८१, शुक्रबार

यी ९ देशबाट अब नेपाल प्रवेशमा रोक


हवाईजहाजलाई सञ्चालन

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै ९ वटा देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

भोलि शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अहिले विश्वका धेरै देशमा देखा परिसकेको छ । हालसम्म कोरोनाको भेरियन्ट ओमिक्रोन २९ देशमा फैलिसकेको छ भने यसबाट ३७३ जना संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोनको संक्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ ।सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो ।

यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।

नेपालको दक्षिणमा रहेको छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरस (कोभिड-१९) को भेरियन्ट ओमिक्रोन देखिएको छ । भारतमा २ जनामा कोरोनाको ओमिक्रोन ‘भेरियन्ट’ को संक्रमण पुष्टि भएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले आज बिहीबार कर्नाटकमा ४६ वर्षीय पुरुष १ जना र ६६ वर्षीय पुरुष १ जना गरी २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि उनीहरूमा मध्यम खालका लक्षण देखिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !