२४ बैशाख २०८१, सोमबार

ईन्द्र बानियाँद्वारा बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा


नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन ।

उनको उम्मेद्धवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहेका छन् । बानियाँले बाग्मती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।

उनले भने,‘हामी १४औं महाधिवेशनमा जुटिरहेका छौं । १६ गते प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि पनि हामीले भोलिका दिनमा अझै सशक्त भूमिका खेल्नुपर्नेछ । परिवर्तनको आन्दोलनदेखि संविधान जारी र यसको कार्यान्वयनसम्म आउँदा यो अवधिसम्म कांग्रेसले लोकतान्त्रिक मुल्य र मान्यतामा देशलाई डोर्याएको छ ।’

उनले कांग्रेसले लिएको विचार र नीतिका कारण आज पार्टीमा ठूलो उभार र लहर आएको पनि विश्वास दिलाए । उनले भने,‘शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने हाम्रो उद्देश्य छ । अब आन्दोलन र परिवर्तनको गाथा धेरै लामो भैसक्यो । गणतन्त्र ल्याउँदासम्म हाम्रो पार्टीले अगुवाई भूमिका खेलेको हो । अब कांग्रेसले आन्दोलन र क्रान्तिलाई विश्राम गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्नुपर्छ । पार्टीले यो अभियान थाल्नुपर्छ । कांग्रेस गरिब, किसान र मजदुरको पार्टी हो । यो कुरा गर्ने पार्टी होईन, काम गर्ने पार्टी हो । कम्युनिष्टबाट सपनाको पोकै पोका, जनतालाई धोकै धोका भयो । हामी त्यस्तो गर्दैनौं । हिजो जनताले कम्युनिष्टलाई प्रचुर बहुमत दिएकै हुन्, तर प्रचुर बहुमत पाएर नेकपाले केही गर्न सकेन् । बरु, जनतामा निराशा छायो ।’

बानियाँले बाग्मती प्रदेशमा कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि विश्वास दिलाए । उनले भने,‘हामी यो प्रदेशलाई समृद्ध बनाउन चाहन्छौं । प्रदेशमात्रै होईन, अब कांग्रेसको नेतृत्वमा देशलाई नै समृद्ध बनाउन चाहन्छौं । कांग्रेसले धर्म र राजा खोज्ने सबैलाई जोड्ने काम गरेको छ । हामीले जनता नै भगवान हो भनेर हिँडेका छौं । हामी मानवताको भावनाले काम गर्छौं । नेपाली कांग्रेले गरेको राजनीति जात, धर्म र कुनै संस्थाको नाममा होईन, हामीले जनताको सेवाको लागि राजनीति गरेको हो । कांग्रेस बास्तवमा जनताकै जगमा उठेको पार्टी हो । हामी विगतदेखि वर्तमानसम्म यही बाटोमा छौं । सबैको आकर्षणको केन्द्रको रुपमा कांग्रेस रहँदै आएको छ ।’

उनले बाग्मती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए । उनले भने,‘मेरो उम्मेद्धवारी घोषणासभामार्फत म भन्न चाहन्छु–यो प्रदेशलाई नेपाली कांग्रेसले लिड गर्ने हो । जनताको बीचमा गएर जित हाँसिल गर्ने हो । अहिले मैले उम्मेद्धवारी घोषणा गर्दैमा यहाँ कोही जितेको हुँदैन्, र कोही हारेको हुँदैन् । जिम्मेवारी लिने हो । हामीलाई विश्वास छ– भीमसेनदास प्रधान पनि हामीसँग जोडिन आउनुहुन्छ । उहाँ पूरानो र सक्रिय नेता हो । हामीले पनि यसमा फराकिलो भएर समेटेर जान्छौं । हाम्रो यो भावना हो । हाम्रो भावना बुझेर उहाँ हामीसँग आउनुहुन्छ भन्ने विश्वास राखेको छु ।’ उनले आफ्नो उम्मेद्धवारी घोषणासभामा उपस्थित् सबै नेता तथा कार्यकर्ताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । उनले भने,‘यो कार्यक्रममा सहभागी हुनुहुने सबै केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, नेताहरु, प्रदेशका मन्त्रीहरु, सांसदहरु सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

बानियाँका समर्थक काभ्रेका सभापति तीर्थ लामाले नेपालको स्थायी शक्ति नै नेपाली कांग्रेस भएको बताए । उनले भने,‘कांग्रेस नै नेपालको स्थायी शक्ति हो । नेपाली जनताले चाहेको समाज यो पार्टीले बनाउन सक्छ भनेर आज तमाम बुद्धिजिवी, फरक–फरक क्षेत्रका चर्चित व्यक्तित्वहरु यसमा लामबद्ध भएर लागेका छन् । यो पार्टीले मात्रै बेरोजगारी अन्त्य गर्न स्क्छ भन्ने विश्वास छ ।’

उनले बानियाँलाई जुझारु नेताको रुपमा चित्रण गरे । उनले भने,‘आदरणीय ईन्द्र बानियाँ, उहाँले आज बाग्मती प्रदेशको सभापतिको उम्मेद्धवारी घोषणा गनुभएको छ, म उहाँलाई अत्यधिक बहुमतले जिताउनको लागि अपिल गर्दछु । साथै, उहाँको उम्मेद्धवारीको लागि प्रस्ताव पनि गर्छु ।’

उनले बानियाँलाई जिताउनको लागि सबैले आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने भन्दै सोहीअनुसार गृहकार्यमा जुट्न पनि आग्रह गरे । उनले भने,‘म सबै नेताहरुलाइृ उहाँलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दछु र भव्य रुपमा उहाँको टिमलाई जिताउन सकौं भन्ने शुभकामना दिन चाहन्छु । उहाँको टिमले निश्चित् रुपमा जित्नेछ ।’

त्यस्तै, बानियाँको उम्मेद्धवारीको समर्थक भक्तपुरका सभापति दुर्लभ थापाले पनि बानियाँ योग्य र सक्षम उम्मेद्धवार भएको भन्दै जिताउनको लागि सबैले भूमिका खेल्नुपर्ने बताए । उनले भने,‘आज हामी ऐतिहासिक क्षणमा छौं । कांग्रेसले पहिलोपटक ईतिहासमै संघीय संरचनाअनुसार प्रदेश अधिवेशन सम्पन्न गर्दैछ, भोलि ७ वटै प्रदेशको अधिवेशन सुरु हुँदैछ । बाग्मती प्रदेशको अधिवेशन सुरु हुनुअघि बाग्मती प्रदेशको हाम्रो टिमबाट सभापतिमा बानियाँलाई अघि बढाएका छौं ।’

उनले आफूहरुले धेरै लामो छलफपछि आफूहरुको समूहबाट उक्त प्रदेशका पार्टीको तर्फबाट पनि प्रदेश संसदीय दलका नेता रहेका बानियाँलाई प्रदेशको सभापतिमा उम्मेद्धवारको रुपमा अघि बढाएको सुनाए । उनले भने,‘उहाँलाई पार्टीको बाग्मती प्रदेशको सभापतिको लागि काभ्रेका सभापति तीर्थ लामाले प्रस्ताव गर्नुभएको छ। मैले समर्थन जनाएको छु । भोलि नै अधिवेशन सुरु हुन्छ । सबै साथीहरु आ–आफ्नो क्षेत्रबाट उहाँलाई जिताउनको लागि खटिनुहुनुनेछ भन्ने विश्वासको साथ ईन्द्र बानियाँलाई म समर्थन गरेको घोषणा गर्दछु । र, महाधिवेशनको तयारी र उहाँलाई जिताउने तयारीमा जुटन् आग्रह गर्दछु ।’

उक्त घोषणा कार्यक्रममा नेताहरु बहादुरसिंह लामा, अर्थराज्यमन्त्री उदयशमशेर राणा , बाग्मती प्रदेशका सांसद कल्पना नेपाली, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, ललितपुर जिल्लाका निवर्तमान सभापति मदन अमात्य र रामेछापका सभापति कान्छाराम तामाङलगायतका नेताहरुको बाक्लो उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !